सप्तरी, १२ कार्तिक । जेनजी आन्दोलनको क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका एक कैदी सप्तरीमा पक्राउ परेका छन् ।

चोरी गर्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका–१० का २३ वर्षीय विजय खड्का रहेका छन् ।

उनी कञ्चनरूप–३ बरमझियास्थित डोमी प्रसाद साहले सञ्चालन गरेको पेडा पसलको गल्ला चोरी गरी भाग्ने क्रममा पक्राउ परेका हुन् । बुधबार बिहान करिब ६ बजे खड्काले पसलको पैसा राख्ने गल्ला चोरी गरेको देखेपछि स्थानीयले उनलाई पछ्याएर नियन्त्रणमा लिएका थिए ।

त्यसपछि घटनाको जानकारी इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई दिइएपछि प्रहरी टोलीले उनलाई औपचारिक रूपमा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा खड्का झुम्का कारागारबाट फरार भएको खुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार खड्कामाथि लागुऔषध सम्बन्धी मुद्दामा ५ वर्ष ६ महिनाको कैद सजाय तोकिएको थियो । उनले ९ महिना कैद भुक्तान गरेपछि कारागारबाट फरार भएको खुलेको हो ।

प्रहरीले खड्कालाई अहिले हिरासतमा राखेको छ । झुम्का कारागारसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।