कटहरियाका करार र ज्यालादारी कर्मचारी पुनः आन्दोलित

रौतहट, १२ कार्तिक । लामो समयदेखि तलब र सेवा सुविधा नपाएका कारण रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू पुनः आन्दोलनमा उत्रिएका छन् ।
बुधबारदेखि उनीहरूले नगरपालिका कार्यालयसहित वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण वडा कार्यालयमा तालाबन्दी गरेर सेवा अवरुद्ध पारेका हुन् ।
यसअघि पनि कर्मचारीहरूले तलब भुक्तानीका माग राख्दै दीपावली र छठ पर्व अगावै तालाबन्दी गरेका थिए । तर, नगरप्रमुख अजय प्रकाश जयसवालले छठ पर्व भित्रै सम्पूर्ण तलब भुक्तानी गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको थियो । छठ सकिएको दुई दिन बित्न नपाउँदै माग कार्यान्वयन नहुँदा उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारीहरूले नगरप्रमुख जयसवाल र प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले पटक–पटक मौखिक र लिखित आश्वासन दिए पनि कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
वडा नं. ८ का कर्मचारी मुकुन्द यादवका अनुसार सबै वडाका कार्यालयमा सामूहिक रूपमा तालाबन्दी गरिएको छ र प्रत्येक वडाको साँचो सम्बन्धित कर्मचारीकै जिम्मामा राखिएको छ । त्यस्तै वडा नं. १ का करार कर्मचारी मुकेश कुशवाहाले माग पूरा नभएसम्म आन्दोलन जारी राखिने चेतावनी दिएका छन् ।
नगरप्रमुख जयसवालले केही दिनअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै तिहारअघि नै करार कर्मचारीहरूको समस्या समाधान गरिने बताएका थिए । उनका अनुसार कर्मचारीहरूले आवश्यक कागजात बुझाएपछि तलब वितरण प्रक्रिया अघि बढाइने भनिएको थियो । तर, अहिलेसम्म भुक्तानी प्रक्रिया अघि बढ्न सकेको छैन ।
योजना शाखा प्रमुख रामनरेश यादवले प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीसँग फोनमार्फतको संवादपछि आगामी तीन दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर तलब पठाइने दाबी गरेका छन् ।
तर, कर्मचारीहरू भने पटक–पटक आश्वासन मात्र दिइने तर व्यवहारिक कार्यान्वयन नहुने गुनासो गर्दै अब विश्वास गर्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

