मधेशमा पाँच दलको गठबन्धन, जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बन्दै


जनकपुरधाम, २९ असोज । मधेश प्रदेशको राजनीतिक अनिश्चितता अन्त्य भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा पाँच दलीय गठबन्धन बनेसँगै मधेशमा नयाँ सरकारको ढोका खुलेको हो ।
सोनललाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन् । यस गठबन्धनसँग प्रदेशसभामा ५६ सांसदको बहुमत जुटेको दाबी गरिएको छ ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीको सहकार्यमा सरकार गठनको तयारी भइरहेकै बेला समीकरण पल्टिएको हो । ती तीन दलले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएर सरकार गठनको दाबी गरिसकेका थिए । तर, जनमत पार्टीले अन्तिम समयमा आफ्नो समर्थन फिर्ता लिँदै नयाँ गठबन्धनमा प्रवेश गरेपछि कांग्रेस–एमालेको योजना विफल भएको हो ।
मधेश प्रदेशसभामा हाल क्रियाशील १०५ जना सांसदमध्ये सरकार गठन गर्न कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक छ । सोनल नेतृत्वको पाँच दलीय गठबन्धनसँग ५६ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ । यो स्पष्ट बहुमत हो ।
दलगत रूपमा हेर्दा नेकपा एमालेका २५ (१ निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) का १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९ (१ निलम्बित), नेकपा (एकीकृत समाजवादी) का ७, राप्रपा, नागरिक उन्मुक्ति र सङ्घीय समाजवादी पार्टीका १–१ प्रदेशसभा सदस्य छन् ।
प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमा आज अपराह्न ४ बजेसम्म रहेको छ । गठबन्धनका नेताहरूको संयुक्त हस्ताक्षरसहित सोनलले मुख्यमन्त्री बन्ने औपचारिक दाबी आज पेस गरिरहेका छन् ।
सोनलले आफू नेतृत्वको सरकार स्थिरता, समावेशिता र मधेशका जनताको आकांक्षा पूरा गर्ने खालको हुने दाबी गर्दै आएका छन् । यो समीकरणले नेपाली कांग्रेस र नेकपा एमालेलाई सत्ताबाट बाहिर राख्नेछ ।
सोनल मधेश राजनीतिका अनुभवी र रणनीतिक नेतामा गनिन्छन् । उनी यसअघि प्रदेश सरकारमा मन्त्री भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
