जनकपुरधाम, २९ असोज । मधेश प्रदेशमा सत्ता समीकरण फेरिने संकेत देखिँदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको पदका लागि आधिकारिक दाबी पेस गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका पाँच दलहरूको समर्थनमा मुख्यमन्त्री बन्ने दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्रीमा सोनलको दाबी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा अघि बढाइएको हो ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीको सहकार्यमा नयाँ सरकार गठनको प्रयास भएको थियो । यी तीन दलले संयुक्त हस्ताक्षरसहित प्रदेश प्रमुखलाई सरकार गठनको पत्र समेत बुझाएका थिए । तर, जनमत पार्टीले सहमति तोड्दै कांग्रेस–एमाले गठबन्धनबाट बाहिरिएपछि नयाँ समीकरणको खाका कोरिएको हो ।

जनमतको समर्थन सोनललाई भएपछि सत्ता समीकरण पुनः सोनल–केन्द्रित बन्न पुगेको छ । यो समीकरणले कांग्रेस र एमालेको रणनीतिमा धक्का दिएको छ ।

हाल १०७ सदस्यीय मधेश प्रदेशसभामा १०५ जना सांसद क्रियाशील छन् । दलगत हिसाबले हेर्दा नेकपा एमालेका २५ (१ निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) का १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९ (१ निलम्बित), नेकपा (एकीकृत समाजवादी) का ७, राप्रपा, नागरिक उन्मुक्ति र सङ्घीय समाजवादी पार्टीका १–१ प्रदेशसभा सदस्य छन् ।

जितेन्द्र सोनलको पक्षमा ५ दलका ५६ सांसदको समर्थन रहेको बताइएको छ । यो संख्या प्रदेशसभामा सरकार गठनको बहुमत (५३) भन्दा माथि छ । यसले उनलाई सरकार गठनका लागि बलियो दाबेदार बनाएको छ ।

सोनल लोसपाका केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी मधेश राजनीतिमा प्रभावशाली नेता मानिन्छन् । यसअघि पनि मन्त्रीको रूपमा काम गरिसकेका छन् । यसपटक उनले नेतृत्व गर्ने गठबन्धनलाई स्थायीत्व र विकासमुखी सरकार बनाउने दाबी गरिएको छ ।