फतुवा विजयपुरमा शिक्षक र लाभग्राही आन्दोलित


रौतहट, २७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू तलब र भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका छन् ।
दीपावली र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा समेत नगरपालिकाले शिक्षकहरूको तलब निकासा नगरेको भन्दै शिक्षकहरूले आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई ज्ञापनपत्र बुझाउँदै कडा असन्तुष्टि जनाएका हुन् ।
हिमाली माध्यमिक विद्यालय हिमालीबासका प्रधानाध्यापक बुनिलाल यादवले दशैँमा पनि तलब नपाएको र अब त दीपावली र छठ पर्व पनि आर्थिक तनावमै बित्ने अवस्था आएको भन्दै नगरपालिकाको उदासीनताप्रति आक्रोश व्यक्त गरे । ‘नगरपालिकाले शिक्षकहरूलाई कुनै प्राथमिकतामा राखिरहेको देखिँदैन। यस्तो बेवास्ता सहेको धेरै भइसक्यो, अब सहन सकिन्न,’ यादवले भने ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले नगरपालिका तर्फबाट कुनै ढिलाइ नभएको दाबी गर्दै खाता सञ्चालन नहुँदा तलब तथा भत्ता निकासा गर्न नसकेको स्पष्ट पारे । उनका अनुसार कार्यवाहक नगरप्रमुख अम्बेया खातुनबाट खाता सञ्चालनका लागि आवश्यक अख्तियारी प्राप्त नभएकै कारण कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता खोलेर रकम निकासा गर्न असमर्थ भएको हो ।
‘हामी तलब निकासा गर्न तयार छौँ । तर, बिना अख्तियारी हामीसँग केहि गर्ने अधिकार छैन । सम्भवतः भोलिसम्म अख्तियारी प्राप्त हुन्छ र त्यसपछि खाता सञ्चालन गरेर शिक्षकहरूको तलब छिटै उपलब्ध गराइनेछ,’ प्रशासकीय अधिकृत यादवले भने ।
तलब नपाउँदा शिक्षकहरू मानसिक र आर्थिक तनावमा परेका छन् । उनीहरूका अनुसार घरको खर्च, चाडपर्वको तयारी, ऋण चुक्ता लगायतका दैनिक दायित्व पूरा गर्न नसकिएको कारण पठनपाठनमै असर पर्न थालेको छ ।
शिक्षक मात्र नभई फतुवा विजयपुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन नसकेपछि वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति लगायतका लाभग्राहीहरू पनि असन्तुष्ट बनेका छन् ।
राङ्गी गर्जा टोलका ७५ वर्षीय राम नारायण चौधरीले सामाजिक सुरक्षा भत्ता नपाउँदा पर्व मनाउन नै मुस्किल परेको बताए । ‘हामीजस्ता वृद्धवृद्धाको जीवनभरको भर यही भत्तामै छ । हरेक चाडमा यही रकमले चामल किनिन्छ, नातिनातिनालाई मिठो दिन पाइन्छ । अब भने त्यो पनि सकिएको छ,’ उनले गुनासो गरे ।
खाता सञ्चालन जस्तो अत्यावश्यक विषयमा राजनीतिक हस्तक्षेप र प्रशासनिक ढिलासुस्तीले गर्दा स्थानीय सरकारप्रतिको विश्वास नै घट्दै गएको शिक्षक र सर्वसाधारणको भनाइ छ । चाडपर्वको मुखमा यस्तो प्रशासनिक जटिलताले न केवल सेवा प्रवाहमा बाधा पुर्याएको छ । यसले स्थानीय जनताको जीवनमा गम्भीर असर पारेको छ ।
स्थानीय अगुवा तथा सामाजिक अभियन्ताहरूले पनि नगरपालिकालाई यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
