रौतहट, २६ असोज । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले आर्थिक अभावका कारण अस्पतालमा बन्धक बनेका एक विपन्न बिरामीको उद्धार गरेका छन् ।

वीरगंजस्थित एलएस न्युरो अस्पतालमा उपचाररत गरुडा–६ का शम्भु माझी तीन महिनादेखि ३ लाख ५० हजार रुपैयाँभन्दा बढीको बिल तिर्न नसकेर अस्पतालमै बन्धक बनेका थिए ।

बिरामीको परिवारले सहयोगका लागि गरुडा–६ का वडा अध्यक्ष रामबाबु चौधरीमार्फत मेयर जैसवाललाई अनुरोध गरेपछि मेयरले तत्काल मानवीय पहल गरेका हुन् । उनले अस्पतालको सम्पूर्ण बिल भुक्तानी गरी माझीलाई मुक्त गराएका छन् ।

वडा अध्यक्ष चौधरीले भने, ‘शम्भु माझीको परिवार निकै विपन्न अवस्थाको हो । मेयर जैसवालले देखाएको मानवीय संवेदनशीलता साँच्चिकै प्रशंसनीय र प्रेरणादायी छ ।’

उद्धारपछि मेयर जैसवालले भने, ‘जनताको दुःख–सुखमा सधैँ साथ दिनु नै जनप्रतिनिधिको कर्तव्य हो । कुनै नागरिक आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुहुँदैन ।’

बिरामी माझीको शरीरका विभिन्न भागका हड्डी भाँचिएपछि उनलाई करिब तीन महिनाअघि एलएस न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च तिर्न नसक्दा अस्पतालले उनलाई डिस्चार्ज गर्न अस्वीकार गरेको थियो ।

अस्पतालको बिल तिरेर मेयर जैसवालले माझीलाई नगरपालिकाको एम्बुलेन्समार्फत सुरक्षित रूपमा घर ल्याएका छन् । स्थानीयवासीले मेयरको उक्त सहयोगलाई जनप्रतिनिधिको वास्तविक उदाहरण भन्दै प्रशंसा गरेका छन् ।