पर्सा, २६ असोज । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा उल्लेखनीय राजस्व संकलन गरेको छ । कार्यालयले साउन र भदौ महिनामा विभिन्न वस्तुको आयातबाट कुल ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व उठाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार राजस्व संकलनमा सबैभन्दा ठूलो योगदान पेट्रोलियम पदार्थको रहेको छ । उनका अनुसार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातमार्फत २६ अर्ब ३३ करोड रुपैयाँको व्यापार गरेको र त्यसबाट ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

यो रकम वीरगंज भन्सारबाट प्राप्त मुख्य २० वस्तुहरूबाट उठेको कुल राजस्वको २८ दशमलव ५६ प्रतिशत हो । ज्ञवालीका अनुसार भन्सारको आयातमुखी स्वरूपमा पेट्रोलियम पदार्थ र सवारीसाधनको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।

त्यसैगरी, सवारीसाधन र तिनका पार्टपुर्जा आयातबाट ६ अर्ब १४ करोड रुपैयाँ (१५.६८ प्रतिशत) राजस्व प्राप्त भएको छ । फलाम र फलामबाट बनेका वस्तुहरूबाट २ अर्ब ५४ करोड रुपैयाँ (६.४९ प्रतिशत) र विभिन्न प्रकारका कपडाबाट १ अर्ब ९८ करोड रुपैयाँ (५.०६ प्रतिशत) राजस्व संकलन गरिएको छ ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको शुरुवाती दुई महिनामा राजस्व संकलनको गति सन्तोषजनक रहेको छ । प्रमुख ज्ञवालीले भने, ‘वीरगंज भन्सार देशकै प्रमुख नाका हो । यहाँको राजस्व संरचना आयातमा बढी निर्भर छ । यसमा पेट्रोलियम र सवारीसाधनले राजस्वको प्रमुख हिस्सा ओगटेका छन् ।’

नेपालको व्यापारिक प्रवेशद्वार मानिने वीरगंज नाकामार्फत भारतबाट दैनिक रूपमा ठूलो मात्रामा पेट्रोलियम पदार्थ, सवारीसाधन, फलामका वस्तु र उपभोग्य सामग्रीहरू आयात हुने गरेका छन् ।

भन्सारले राजस्व संकलनका साथै राजस्व चुहावट रोक्ने उद्देश्यले निगरानी र अनुगमन प्रणाली थप सुदृढ बनाएको जनाएको छ ।