रौतहट, २६ असोज । रौतहटको गुजरा नगरपालिका–२ कटानी टोलमा प्रहरीले शनिबार राति विशेष अभियान सञ्चालन गरी लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामध्ये दुई–दुईजनालाई छुट्टाछुट्टै स्थानबाट समातिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब साढे ९ बजे विशेष सूचनाको आधारमा कटानी टोलमा गरिएको निगरानीपछि काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई पक्राउ गरिएको हो । खानतलासीका क्रममा मनिष घलानको पाइन्टको गोजीमा कालो प्लास्टिकमा बेरेर लुकाइएको ९.३०० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्राथमिक सोधपुछ र उनीहरूकै बयानका आधारमा प्रहरीले आइतबार बिहान करिब साढे ९ बजे सोही टोलका ४० वर्षीय ज्ञानबहादुर थिङ (सञ्जु) र २० वर्षीय आजत अन्सारीलाई पनि नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार सञ्जु थिङको घर खानतलासी गर्दा स–साना २० पुरिया ब्राउन सुगरजस्तो देखिने पदार्थ (करिब १.८६० ग्राम), ‘नाइट्राजेपाम’ लेखिएका १३ थान ट्याबलेट र नगद ६५ हजार १ सय रुपैयाँ बरामद गरिएको छ ।

बरामद गरिएको पदार्थको प्रारम्भिक परीक्षण भइरहेको र घटनामा संलग्न चारै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्ला दिनमा रौतहटको विभिन्न स्थानमा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न समूहमाथि निगरानी बढाएको जनाएको छ ।