रौतहट, २६ असोज । रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ प्रालिका सञ्चालक अजितकुमार कर्णविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध सार्वजनिक रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।

आयोगका अनुसार विद्यालय भवन निर्माणसम्बन्धी ठेक्काको बोलपत्र आह्वान र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि सो प्रक्रिया उल्लङ्घन गरिएको पाइएको छ । उनीहरूले आपसी मिलेमतो गरी ठेक्कासम्बन्धी सूचना सीमित प्रतिमा मात्र छापेर झुट्टा कागजात पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

रौतहट एडभटाइजिङ प्रालिमार्फत सिटी पोस्ट राष्ट्रिय दैनिक नामक पत्रिकामा ठेक्का सूचना प्रकाशन भएको झुटो विवरण पेश गरी सार्वजनिक कोषबाट २ लाख ५७ हजार ९७० भुक्तानी गरिएको प्रमाणित भएको आयोगले जनाएको छ ।

प्रेस काउन्सिल नेपालको अभिलेखमा सो मितिको सूचना नदेखिएको पुष्टि भएपछि आयोगले सो कार्यलाई सार्वजनिक रकम हिनामिना गर्ने नियतका साथ गरिएको भ्रष्टाचारपूर्ण गतिविधिका रूपमा ठहर गरेको हो ।

आयोगले तीनै जनामाथि भ्रष्टाचार निवारण ऐनअनुसार कानुनी कारबाहीको मागसहित विशेष अदालतमा मुद्दा चलाएको हो ।

अख्तियारका प्रवक्ता अनुसार नगरपालिकाका अधिकारीहरू र विज्ञापन कम्पनीबीचको मिलेमतोबाट सार्वजनिक रकम दुरुपयोग भएको प्रमाणित भएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो ।