जनकपुरधाम, २५ असोज । देशव्यापी जेनजी आन्दोलनका क्रममा मधेश प्रदेश सबैभन्दा बढी प्रभावित प्रदेश बनेको छ । आन्दोलनको उग्र रूपले सरकारी सम्पत्तिदेखि निजी भवन र पार्टी कार्यालयसम्म क्षति पुगेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

अदालतमा मुद्दा परेका कैदीहरुको पक्षमा सुरु भएको जेनजी आन्दोलन शान्तिपूर्ण मागदेखि हिंस्रक रूप लिन पुगेपछि मधेश प्रदेशका आठ जिल्लामा ठूला क्षति पुगेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आन्दोलनका क्रममा मधेश प्रदेशभर ९० वटा प्रहरी कार्यालय र २१५ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका छन् ।

त्यस्तै, प्रदर्शनकारीले सरकारी तथा निजी २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ मूल्य बराबरका सवारी साधनमा आगजनी गरेका छन् । प्रायःजसो सरकारी कार्यालय, वडा कार्यालय, मालपोत र गाउँपालिका भवनहरू आन्दोलनकारीको निशानामा परेका छन् ।

प्रदेशभित्रका २१ वटा नगरपालिकामा मध्यम क्षति र तोडफोडका घटनाहरू भएको प्रहरीको विवरणमा उल्लेख छ । साथै, ६ वटा गाउँपालिकाका प्रशासनिक भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने १ वटा गाउँपालिका भवनमा आंशिक क्षति पुगेको छ ।

यसैगरी, आन्दोलनका क्रममा ३ वटा व्यापारिक र जनप्रतिनिधिका निजी भवन पूर्ण रूपमा जलाइएका छन् । ५४ वटा घर तथा संरचनामा आंशिक क्षति पुगेको बताइएको छ । राजनीतिक दलका २५ वटा पार्टी कार्यालयहरूमा समेत आंशिक क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरी प्रवक्ता डीआईजी केदार ढकालका अनुसार क्षतिको मूल्याङ्कन अझै जारी छ । ‘कतिपय ठाउँमा फाइल र उपकरणहरू समेत जलेका छन् । त्यसको पूर्ण विवरण आउन बाँकी छ,’ उनले भने ।

प्रदेशका अधिकांश प्रभावित ठाउँमा अहिले पनि सुरक्षा निकायले सतर्कता बढाएको छ । जनकपुर, राजविराज, मलंगवा, लहान, गौर र कलैया क्षेत्रमा अतिरिक्त प्रहरी बल परिचालन गरिएको छ ।

अधिकांश सरकारी कार्यालयहरूमा हाल सेवाग्राहीका काम रोकिएका छैनन् । तर, पूर्ण रूपमा सेवा सञ्चालन गर्न धेरै समय लाग्ने स्थानीय अधिकारीहरूले बताएका छन् । जनकपुरधामस्थित एक सरकारी अधिकारीका अनुसार कागजात, कम्प्युटर र अभिलेख जलाइएकाले कामचलाउ रूपमा मात्रै सेवा दिइरहेका छौं ।

जेनजी आन्दोलनले मधेश प्रदेशको प्रशासनिक, कानुनी र आर्थिक संयन्त्रमा ठूलो असर पारेको छ । स्थानीय प्रशासनले भने स्थितिलाई सामान्य बनाउँदै जनसेवा पुनः सुचारु गर्न प्रयासरत रहेको जनाएको छ ।