सप्तरी, २५ असोज । चार पटक शिलान्यास र निर्माण सम्पन्न भएर उद्घाटन भएको तीन महिनापछि अन्ततः राजविराज बसपार्क शनिबारदेखि सञ्चालनमा आएको छ ।

लामो समयदेखि अल्झिएको यो परियोजना जेनजी युवा समूहको निरन्तर दबाब र प्रशासनिक पहलपछि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

राजविराज नगरपालिका–२ राजदेवीचोकस्थित नवनिर्मित बसपार्क सञ्चालनमा आएसँगै अब नगरभित्र सवारी साधनहरूले जथाभावी सडकमा पार्किङ गर्ने समस्या हट्ने भएको छ । स्थानीयवासी र यातायात व्यवसायी दुवै यसबाट राहत पाउने अपेक्षा गरिएको छ ।

गत जेठ १५ गते राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले बसपार्कको औपचारिक उद्घाटन गरेकी थिइन् । तर, बसपार्कसम्म पुग्ने बाटो जीर्ण भएको र पूर्वाधार अपूरो भएको भन्दै यातायात व्यवसायीहरूले त्यहाँबाट सवारी सञ्चालन गर्न अस्वीकार गर्दै आएका थिए ।

तर, पछिल्ला दिनमा जेनजी युवा समूहले निरन्तर दबाब दिएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी उपरीक्षक गौतमकुमार केसी, कार्यवाहक नगरप्रमुख परविन, यातायात व्यवसायी संघका प्रतिनिधि र जेनजी युवाहरूबीच भएको संयुक्त बैठकले अन्ततः सहमति गरेको हो । सहमतिपछि शनिबारदेखि औपचारिक रूपमा बसपार्कबाट सवारी साधन चल्न थालेका छन् ।

बसपार्क सञ्चालनमा आएपछि राजविराज बजार क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अव्यवस्थित पार्किङ, सडकमा हुने जाम र यात्रुहरूको असुविधामा कमी आउने विश्वास नगरपालिकाले गरेको छ ।

स्थानीय युवा निखिल यादवले भने, ‘यो बसपार्कको माग हामीले धेरै पटक उठाएका थियौं । अब राजविराजमा सार्वजनिक यातायात व्यवस्थित हुने आशा गरेका छौं ।’

नगरपालिकाका अधिकारीहरूले भने बसपार्क क्षेत्रको पहुँचमार्ग, बत्ती र सरसफाइको व्यवस्थापनका लागि थप सुधारका काम जारी रहेको जानकारी दिएका छन् ।