जनकपुरधाम, २५ असोज । धनुषा जिल्लाका आधा दर्जन स्थानीय तहमा अहिलेसम्म गाउँसभा र नगरसभा नबसेका कारण सरकारी कर्मचारी, शिक्षक र स्थानीय तहमा कार्यरत कर्मचारीहरू चाडपर्वमा पनि तलब–भत्ताविहीन बनेका छन् । सभाको अभावले दशैंजस्तो ठूलो पर्वमा पनि तलब नपाउँदा उनीहरू निराश बनेका छन् ।

जिल्लाका मिथिला, क्षिरेश्वरनाथ, कमला, हंसपुर नगरपालिका र औरही गाउँपालिकामा बजेट पारित गर्ने सभा नहुँदा करिब एक हजारभन्दा बढी कर्मचारी र शिक्षकले असोज महिनाको तलब लिन नसकेको बुझिएको छ । यी पालिकाका कर्मचारीहरूले तलबविहीन दशैं मनाउन बाध्य भएको भन्दै गुनासो गरेका छन् ।

क्षिरेश्वरनाथ नगरपालिकामा कार्यरत एक शिक्षकले नाम नखुलाउने सर्तमा भने, ‘हामीले सधैंजस्तो यसपालि पनि परिवारका लागि नयाँ लुगा, मिठाइ किन्ने योजना बनाएका थियौं । तर, तलब नआएपछि सबै योजना अधुरो रह्यो । चाडपर्वको रौनकको सट्टा निराशा छ ।’

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलका अनुसार ती पालिकाहरूमा बजेट पारित गर्ने बैठक जनप्रतिनिधिहरूबीचको विवादका कारण अड्किएको हो ।

उनले भने, ‘केही पालिकामा योजनाको प्राथमिकता र आर्थिक स्रोतको बाँडफाँडमा राजनीतिक दलबीच सहमति हुन नसक्दा सभा रोकिएको हो । आधा दर्जन पालिकाको सभा त सम्पन्न भयो । तर, अझै केही पालिकामा समस्या समाधान हुन बाँकी छ ।’

धनुषाका अधिकांश पालिकामा कुनै एक दलको स्पष्ट बहुमत नभएकाले योजना छनोट र बजेट वितरणका विषयमा दलहरूबीच रस्साकस्सी हुने गरेको मण्डलले बताए । उनका अनुसार जहाँ दलहरूबीच आपसी सहमति छैन, त्यहाँ नीति तथा कार्यक्रम पारित हुन नसक्दा कर्मचारी र जनसाधारण दुवै प्रभावित भइरहेका छन् ।

यसैबीच क्षिरेश्वरनाथ नगरपालिकाका कर्मचारी र शिक्षकहरूले तिहार वा छठमा समेत तलब नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले आफ्नो नियमित पारिश्रमिकमा राजनीतिक विवादले अवरोध पु¥याउनु अन्यायपूर्ण भएको बताएका छन् ।

स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म कुनै पनि शीर्षकमा खर्च गर्न नपाइने कानुनी प्रावधान छ । यसैले सभा नबसेका पालिकाहरूले आर्थिक कारोबार रोकिएका छन् । यसको सीधा असर सेवा प्रवाहदेखि तलब भत्तासम्म परेको हो ।