जनकपुरधाम, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोककुमार यादव बिहीबार धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतको आदेशअनुसार उनलाई १ लाख ६० हजार रुपैयाँ धरौटीमा मुक्त गरिएको हो ।

अदालतले मुद्दा प्रक्रियामा रहेकाले यादवलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रिहा भएपछि यादवलाई समर्थक तथा कार्यकर्ताहरूले फूलमाला र जयघोषसहित स्वागत गरेका थिए ।

सर्लाहीस्थित अदालत परिसरमा ठूलो संख्यामा जसपा कार्यकर्ता र स्थानीयवासी उपस्थित थिए । समर्थकहरूले ‘अशोक यादव जिन्दाबाद’, ‘न्यायको जित भयो’ जस्ता नारा लगाउँदै विजय ¥यालीसमेत निकालेका थिए ।

पार्टीका स्थानीय नेताहरूका अनुसार यादवमाथि लागेको आरोप राजनीतिक उद्देश्यले प्रेरित रहेको भन्दै उनीहरू निरन्तर कानुनी लडाइँमा साथ दिने जनाएका छन् ।

धरौटीमा रिहा भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यादवले भने, ‘म कानूनको सम्मान गर्छु । सत्यको विजयी हुन्छ भन्नेमा म दृढ छु । अबको ध्यान प्रदेशको राजनीतिक स्थायित्व र जनताको पक्षमा रहनेछ ।’