सर्लाही, २३ असोज । सर्लाहीको कौडेना गाउँपालिका–२ फूलपरासीमा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ । स्थानीय रवीन्द्र यादवकी ४२ वर्षीया श्रीमती नयनदेवी यादव गोमन सर्पको डसाइपछि ज्यान गुमाएकी हुन् ।

स्थानीय प्रहरीका अनुसार नयनदेवीलाई दिउँसो खेतको कामबाट घर फर्कँदै गर्दा गोमन सर्पले डसेको थियो । तर, सर्पले डसेपछि परिवारजनले उनलाई तुरुन्त अस्पताल लैजानुको सट्टा नजिकैको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।

झारफुकपछि पनि अवस्था सुधार नदेखिएपछि मात्र उनलाई अस्पताल ल्याइएपनि ढिलो भइसकेको थियो । गम्भीर अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएका नयनदेवीलाई चिकित्सकले अस्पताल पुग्नेबित्तिकै मृत घोषित गरे ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बिरामीको मृत्यु भइसकेकाले एन्टीस्नेक भेनम (सर्पदंशको प्रतिविष) उपचार सम्भव भएन । त्यसपछि पनि परिवारका सदस्यले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याए । तर, त्यहाँ पनि स्वास्थ्यकर्मीले मृत्यु भइसकेको पुष्टि गरेका थिए ।

सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले भने, ‘बिरामी जिउँदै ल्याइएको भए बच्ने सम्भावना थियो । सर्पदंशपछि तुरुन्त स्वास्थ्य संस्थामा ल्याउने हो, झारफुकमा समय गुमाउँदा जोखिम अत्यधिक बढ्छ ।’