सप्तरी, २३ असोज । सप्तरीमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । सप्तकोशी नगरपालिका–१ निवासी २८ वर्षीय दिपेश परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार परियार आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटर (कल पम्प) मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । तत्कालै उनलाई उद्धार गरी नगर अस्पताल कञ्चनपुर पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो ।

स्थानीयवासीका अनुसार मोटरमा केही प्राविधिक समस्या आएपछि परियारले आफैं मर्मत गर्ने प्रयास गरेका थिए । त्यही बेला नाङ्गो तारमा हात पर्दा तीव्र करेन्ट लागेर उनी लडेका थिए ।

घटनापछि प्रहरीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको जनाएको छ ।

स्थानीय प्रशासनले विद्युत् उपकरण मर्मत गर्दा सावधानी अपनाउन र प्राविधिक सहयोग लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।