पर्सा, २३ असोज । पर्सा र बारामा फैलिएको हैजाको जोखिम नियन्त्रणका लागि सरकारले व्यापक ‘हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ ।

हालैको वर्षा र बाढीका कारण ती जिल्लामा पानीजन्य रोगको संक्रमण फैलिने उच्च सम्भावना देखिएपछि स्वास्थ्य सेवा विभागले खोप अभियानको तयारी तीव्र बनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालका अनुसार पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि खोप अभियान सुरु भई तिहारअघि नै सम्पन्न गरिने योजना छ । खोप अभियानका लागि १० लाख १८ हजार १०० मात्रा हैजा विरुद्धको खोप पठाउने तयारी भएको उनले जानकारी दिए ।

डा. लालका अनुसार यो खोप अभियान एक वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई लक्षित गरिएको छ । गर्भवती महिला र स्तनपान गराइरहेका महिलाले पनि यो खोप सुरक्षित रूपमा लिन सक्ने जनाइएको छ । यो मुखबाट खुवाइने खोप हो र एकपटकको मात्रा नै पर्याप्त हुने बताइएको छ ।

‘हैजाबाट बच्नका लागि यो खोप अत्यन्तै प्रभावकारी र सुरक्षित छ । बाढीपछिको परिस्थितिमा संक्रमण फैलिन नदिन खोप अभियान तुरुन्त सञ्चालन गर्न लागिएको हो,’ डा. लालले भने ।

गत भदौ ६ गते पर्साको वीरगंज महानगरपालिका–१२ स्थित मुरली टोलबाट सुरु भएको हैजाको प्रकोप अहिले पनि नियन्त्रणमा नआएको बताइएको छ । हालसम्म पर्सा र बारामा १ हजार ६ सय ८५ जनामा हैजाको संक्रमण देखिएको छ । पर्सामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार बाढीले खानेपानी र सरसफाइ प्रणालीमा असर पुर्याएका कारण संक्रमणको जोखिम अझ बढेको छ । वीरगंज, बहुदरमाई, कलैया, जितपुरसिमरा, निजगढलगायतका नगरपालिका तथा बस्तीहरूलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, महिला स्वास्थ्य स्वयंसेवक र सामुदायिक समूहहरू सक्रिय रूपमा परिचालित गरिने भएको छ । जनचेतना अभिवृद्धिका लागि सूचना, सन्देश र रेडियो–माइकिङ कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार हैजाबाट बच्न स्वच्छ खानेपानी, सरसफाइ र हात धुने बानी कायम गर्नुपर्छ । खोपले संक्रमणको जोखिम घटाउने भए पनि सावधानी अनिवार्य रहेको उनीहरूको भनाइ छ ।

यसअघि पनि नेपालमा विभिन्न महामारीहरूका समयमा हैजा विरुद्धको खोप प्रयोग गरिएको छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई सुरक्षित र प्रभावकारी मानेको छ ।