जनकपुरधाम, २३ असोज । आगामी प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति घोषणा भएपछि मधेश प्रदेशको निर्वाचन कार्यालय जनकपुरधाममा मतदाता नामावली अद्यावधिक गर्न आउने सर्वसाधारणको भीड दिनप्रतिदिन बढ्दै गएको छ ।

निर्वाचन आयोगले नयाँ मतदाताको नामावली सङ्कलनका लागि आह्वान गरेसँगै जिल्ला र प्रदेश निर्वाचन कार्यालयहरूमा फारम भर्ने, विवरण अद्यावधिक गर्ने र फोटो खिचाउनेहरूको लर्को लागेको हो ।

निर्वाचन आयोगले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन तयारी तीव्र बनेको छ । त्यससँगै भोट हाल्ने अधिकार प्रयोग गर्न चाहने नागरिकहरू अहिले आफ्नो नाम मतदाता नामावलीमा समावेश गराउन व्यस्त देखिएका छन् ।

मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका कम्प्युटर अधिकृत कृष्णचन्द्र राउतका अनुसार निर्वाचन मिति तोकिएपछि दैनिक रूपमा कार्यालयमा भीड बढिरहेको छ । उनले भने, ‘हाल दैनिक दुई सयभन्दा बढी व्यक्ति फोटो खिच्न र विवरण अद्यावधिक गर्न आउन थालेका छन् । दशैं बिदापछि पहिलो दिनमै ८५ जनाले फोटो खिचाएका थिए, त्यसपछि संख्या लगातार बढ्दै गएको छ ।’

राउतका अनुसार अहिले मतदाता नामावली सङ्कलनका लागि दुई स्थानमा छुट्टाछुट्टै काउण्टर सञ्चालन गरिएको छ । भीड व्यवस्थापनका लागि अतिरिक्त कम्प्युटर र जनशक्ति थप्ने तयारी भइरहेको उनले बताए ।

संविधानअनुसार आगामी निर्वाचनमा मतदान गर्न २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्रै मतदान गर्न पाउनेछन् । त्यसैले अहिले १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका युवायुवतीहरू मतदाता सूचीमा नाम समावेश गराउन आतुर छन् ।

जेनजी आन्दोलनपछि राजनीतिक रूपले सचेत बनेको नयाँ पुस्ता यस पटकको निर्वाचनमा सहभागी हुन उत्साहित देखिएको छ । निर्वाचन मिति फागुन २१ गते तोकिएपछि मतदानको तयारीमा युवा पुस्ताको जोश झल्किएको छ ।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकका लागि अनलाइन प्रणाली पनि सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत नागरिकले आफ्नो व्यक्तिगत विवरण अनलाइन भरेर नजिकको निर्वाचन कार्यालयमा पुगेर फोटो खिचाउन सक्ने व्यवस्था गरिएको छ ।

मधेश प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिले फोटो खिचाउने, फारम भर्ने र विवरण जाँच गर्ने काम दुवै माध्यम—अफलाइन र अनलाइनबाट भइरहेको छ । आयोगले ग्रामीण क्षेत्रका मतदातालाई पनि स्थानीय तहमार्फत विवरण अद्यावधिकका लागि सूचना पठाएको छ ।

निर्वाचन तयारीसँगै मधेशमा राजनीतिक चहलपहल बढ्दै गएको छ । जनकपुरधामदेखि वीरगंज, मलंगवा, लहान हुँदै बर्दिबाससम्मका निर्वाचन कार्यालयहरूमा पनि समान रूपमा नागरिकको चाप बढेको देखिन्छ ।

चुनाव नजिकिँदै जाँदा मतदाता नामावली अद्यावधिकको कार्यले प्रदेशभर उत्साह ल्याएको छ । आयोगले मिति नजिकिँदै जाँदा भीड अझ बढ्ने अनुमान गरेको छ ।