चार महिनादेखि तलब नपाएका शिक्षक आन्दोलित, नगरपालिकामा तालाबन्दी


सप्तरी, २३ असोज । तलब नपाएको गुनासो गर्दै सप्तरीको खडक नगरपालिकाका शिक्षकहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । चार महिनासम्मको तलब रोकिएको भन्दै उनीहरुले विरोधमा उत्रिँदै कार्यालयमा तालाबन्दी गरी पठनपाठन ठप्प पारेका हुन् ।
कल्याणपुरस्थित नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गर्दै शिक्षकहरुले भोकै पेट काम गर्न सकिन्न भन्दै आफ्नो पीडा सार्वजनिक गरेका छन् । दशैँजस्तो ठूला चाडपर्वको मुखमा समेत तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरुको गुनासो छ ।
शिक्षक कुलानन्द साहका अनुसार खडक नगरपालिकाको कार्यपालिकाबाट दशैँअघि नै शिक्षक तथा कर्मचारीलाई तलब उपलब्ध गराउने निर्णय भइसकेको थियो । ‘असोज ७ गते जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी गराइएको थियो,’ उनले भने, ‘तर, त्यसपछि पनि कुनै सुनुवाइ नभएपछि अन्ततः तालाबन्दी गर्नु परेको हो ।’
शिक्षक शैलेन्द्र कुमार चौधरीले भने, ‘चार–चार महिनासम्म भोको पेटले काम गरिरहेका थियौं, अब बाध्य भएर आन्दोलनमा उत्रनु परेको छ । शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई यति उपेक्षा गर्ने हो भने हामी कहाँ जाने?’
तालाबन्दीका क्रममा जारी गरिएको प्रेस विज्ञप्तिमा शिक्षक धर्मराज सिंहसहित १५ जना शिक्षकको हस्ताक्षर रहेको छ । उनीहरुले तत्काल तलब उपलब्ध गराइने व्यवस्था नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले तलब रोकिएर बस्नुको प्रमुख कारण नगरप्रमुखको असहयोग रहेको आरोप लगाएका छन् । ‘असारमै नगरसभा सम्पन्न भइसकेको थियो । कार्यपालिकाले निर्णय पनि गरिसकेको हो । तर, नगरप्रमुख जयप्रकाश चौधरीले आवश्यक अख्तियारी नदिएकाले हामी तलब खुवाउन असमर्थ भएका हौं,’ सोनुले भने ।
उनका अनुसार असोज २ गते पुनः कार्यपालिकाले शिक्षक तथा कर्मचारीको तलब भुक्तानीको निर्णय गरे पनि नगरप्रमुखले हस्ताक्षर नगरेपछि प्रक्रिया अघि बढ्न नसकेको हो ।
शिक्षकको आन्दोलनसँगै खडक नगरपालिकाभित्रका विद्यालयहरूमा पठनपाठन ठप्प भएको छ । यसले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पारेको भन्दै अभिभावकहरू चिन्तित बनेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
