संघीयता धरापमा पर्यो भने आन्दोलनको उपलब्धि समाप्त हुन्छ : चन्दन सिंह


जनकपुरधाम, २२ असोज । मधेश प्रदेशको बदलिंदो सत्ता समीकरणबीच जनमत पार्टीले संघीयता र संविधानको रक्षा गर्ने उद्देश्यले सरकार निर्माणमा सहयोग गरेको दाबी गरेको छ ।
जनमत पार्टीका नेता चन्दन सिंहले पार्टीले कुनै पनि व्यक्तिगत स्वार्थका लागि नभई संविधानिक रिक्तता र संघीयता जोगाउन सरकार गठनमा साथ दिएको स्पष्ट पारेका हुन् ।
नेता सिंहका अनुसार कांग्रेस र जनमतले विश्वासको मत फिर्ता लिएको अवस्थामा तत्कालीन सरकारप्रमुखले प्रदेशसभा विघटन गर्ने तयारी गरिरहेका संकेतहरू भेटिएपछि जनमत पार्टीले वैकल्पिक सरकार गठनमा सहयोग पुर्याएको हो ।
‘हामीले समाचार पायौं तीनवटै प्रदेशसभा विघटन गरेर संघीयताको अस्तित्वमै प्रश्न उठाउने तयारी हुँदै थियो,’ सिंहले भने, ‘त्यसैले संविधानिक रिक्तता नहोस्, संघीयता धरापमा नपरोस् भनेर हामीले जिम्मेवार राजनीतिक शक्ति भएर कदम चाल्यौं ।’
उनले भने, ‘हाम्रो समर्थन सत्ताको रेसका लागि नभई प्रणाली बचाउने प्रतिवद्धता हो ।’
सिंहले जनमत पार्टीमाथि आएको राजनीतिक आरोपहरूलाई अस्वीकार गर्दै भने, ‘जसपा नेपाल र लोसपाले सरकार बनाउन नसक्दा त्यो असफलता हाम्रो काँधमा हाल्नु अमिलो अंगुरको कुरा जस्तै हो ।’
उनका अनुसार जनमत पार्टीले अघिल्लो पटक पनि जसपा नेपाललाई समर्थन दिएकै थियो । तर, यस पटक सरकार गठन गर्न नसक्ने स्थिति सिर्जना भएपछि संवैधानिक शून्यता टार्न अर्को विकल्प रोजिएको हो ।
‘उहाँहरूले बनाउन सक्ने अवस्थामा हुनुहुन्थ्यो भने हामीले समर्थन नगर्ने कारण थिएन,’ सिंहले भने, ‘तर, सरकार नबन्दा मधेश र संघीयता नै जोखिममा पथ्र्यो, त्यसैले जिम्मेवारीका साथ निर्णय गर्यौं ।’
मधेश आन्दोलनको उपलब्धिका रूपमा आएको संघीयता अहिले पनि निरन्तर आक्रमणमा रहेको बताउँदै सिंहले मधेशका राजनीतिक दलहरूले सत्ताको स्वार्थभन्दा माथि उठेर प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिए ।
‘मधेश आन्दोलनले ल्याएको संघीयता बचाउन सबै दल एकजुट हुनुपर्छ,’ उनले भने, ‘सरकार आउँछ, जान्छ, तर संघीयता धरासायी भयो भने आन्दोलनले ल्याएको उपलब्धि नै समाप्त हुन्छ ।’
सिंहले जनमत पार्टी सत्ताको प्रतिस्पर्धाभन्दा बाहिर रहेर पनि जनताको पक्षमा निरन्तर क्रियाशील रहेको बताए । ‘हामी सत्ताको रेसभन्दा बाहिर छौं । तर, जनता बीचमा छौं, सडकमा छौं,’ उनले भने, ‘जनताको मुद्दा उठाउने हाम्रो यात्रा जारी रहन्छ ।’
उनका अनुसार जनमत पार्टीले मधेशको पहिचान, स्वायत्तता र समान अवसरका लागि निरन्तर आवाज उठाउनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
