मधेशमा मतदाता नामावली अद्यावधिकका लागि भिड


जनकपुरधाम, २२ असोज । नेपाल सरकारले प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति तोकेपछि मधेशसहित देशभर मतदाता नामावली अद्यावधिकका लागि सर्वसाधारणको भीड बढेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले नयाँ मतदाताको नामावली सङ्कलनका लागि आह्वान गरेपछि जनकपुरधामस्थित मधेश प्रदेश निर्वाचन कार्यालयमा दैनिक रूपमा सयौँ नागरिकको भीड देखिन थालेको हो ।
निर्वाचन आयोगको जनकपुरधामस्थित मधेश प्रदेश कार्यालयका कम्प्युटर अधिकृत कृष्णचन्द्र राउतका अनुसार सरकारले निर्वाचन मिति घोषणा गरेपछि कार्यालयमा दैनिक दुई सयभन्दा बढी व्यक्ति मतदाता नामावलीमा नाम समावेश गर्न आउने गरेका छन् ।
‘दशैँ बिदा सकिएर कार्यालय खुलेको पहिलो दिन ८५ जनाले फोटो खिचाएका थिए,’ राउतले भने, ‘तर, त्यसपछि संख्या तीव्र रूपमा बढ्दै गईरहेको छ । हिजो मात्रै २ सयभन्दा बढीले मतदाता फारम भरेका छन् ।’
उनका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूमा अधिकांश नयाँ युवा पुस्ताका छन् । विशेष गरी जेन्जी आन्दोलनपछि देशको राजनीति र प्रतिनिधित्वप्रति युवाहरूको रुचि बढेको देखिएको छ ।
निर्वाचन आयोगले नयाँ मतदाता नामावली सङ्कलनका लागि १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूलाई आह्वान गरेको छ । आगामी निर्वाचनमा मतदान गर्नका लागि भने २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
यो कारणले अहिले १६ देखि १८ वर्ष उमेर समूहका युवायुवतीहरू कार्यालयमा लाम लागिरहेका छन् । जनकपुरधामका स्थानीय युवा अंकित चौधरीले भने, ‘पहिलोपटक मतदान गर्न पाउँछु भन्ने सोचले निकै उत्साहित छु । मतदाता नामावलीमा नाम दर्ता गर्नु नागरिकको पहिलो अधिकार हो भन्ने अनुभूति भइरहेको छ ।’
मधेश प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिले अनलाइन प्रणालीमार्फत पनि मतदाता नामावलीको फारम भर्न सकिने व्यवस्था गरिएको छ ।
‘सेवाग्राहीले घरमै बसेर अनलाइनमार्फत विवरण भरेपछि कार्यालयमा आएर फोटो खिचाउन सक्छन्,’राउतले भने, ‘यसले समय र भीड दुवै कम गर्न सहयोग पुर्याएको छ ।’
तर पनि प्रत्यक्ष रूपमा कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गर्न चाहनेहरूको संख्या उच्च भएकाले कार्यालयले हाल दुई स्थानबाट फोटो खिच्ने व्यवस्था गरेको छ ।
मतदाता अद्यावधिकका क्रममा देखिएको अत्यधिक चापका कारण मधेश प्रदेश निर्वाचन कार्यालयले थप जनशक्ति र कम्प्युटर उपकरण परिचालन गर्ने तयारी गरेको छ ।
राउतका अनुसार दैनिक बढ्दो चापलाई व्यवस्थापन गर्नका लागि आवश्यक प्राविधिक जनशक्ति र उपकरण थप्ने तयारी भइरहेको छ ।
त्यस्तै, निर्वाचन आयोगले देशभरका जिल्ला र प्रदेश कार्यालयहरूमा समान तालिका लागू गर्न निर्देशन दिएको छ । यसअनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सेवा प्रदान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
