प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ


सर्लाही, २२ असोज । प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार ४० वर्षीय वडाध्यक्ष दासलाई बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार असोज १७ गते साँझ वडाध्यक्ष दासको नेतृत्वमा गोडैता प्रहरी चौकीमा भीड जम्मा भई ढुङ्गामुढा गरिएको थियो । आक्रमणका क्रममा प्रहरी चौकी गोडैताका इन्चार्ज सई अवधेशप्रसाद यादवको दुई वटा दाँत भाँचिएको छ भने अन्य पाँच जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
डिएसपी राईका अनुसार घटनामा प्रयोग भएका ढुङ्गा र बाँसका भाठा प्रहरीले बरामद गरेको छ । आक्रमणका क्रममा प्रहरी चौकीमा पार्क गरिएका तीन वटा मोटरसाइकलमा समेत क्षति पुगेको बताइएको छ ।
दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा सुरु भएको विवादले नै घटनाको रूप लिएको जनाइएको छ । गोडैता नगरपालिका–७ का स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने ठेकेदार अनिलराय यादवलगायतले कुटपिट गरेको विषयमा वडाध्यक्ष दास नेतृत्वको समूह प्रहरी चौकी पुगेको थियो । सोही विवाद मिलाउनका लागि छलफल भइरहेकै बेला समूहले प्रहरीमाथि नै आक्रमण गरेको आरोप प्रहरीको छ ।
घटनामा संलग्न ठेकेदार अनिलराय यादवलाई प्रहरीले पहिल्यै नियन्त्रणमा लिएको छ भने कुटपिटपीडित कारिल यादवलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले वडाध्यक्ष विनेशकुमार दासलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेको छ । उनीविरुद्ध कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए ।
वडाध्यक्ष दास पक्राउको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको थियो । स्थानीय व्यवसायीहरू र दासका समर्थकहरूले बजार क्षेत्रका सबै पसल र सवारी सञ्चालन रोक्दै प्रदर्शन गरेका थिए ।
गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले वडाध्यक्ष दासको पक्राउलाई राजनीतिक पूर्वाग्रहका कारण गरिएको दाबी गर्दै भने, ‘उनीमाथि लगाइएको आरोप पक्षपातपूर्ण छ । वास्तविक घटना राजनीतिक रूपमा तोडमोड गरेर प्रस्तुत गरिएको छ ।’
तर, प्रहरी अधिकारीहरूले भने वडाध्यक्षमाथि ठोस प्रमाणका आधारमा कारबाही अघि बढाइएको स्पष्ट पारेका छन् । डिएसपी राईले भने, ‘यो सामान्य विवाद होइन । प्रहरी चौकीमाथि आक्रमण हुनु भनेको कानूनको शासनमाथि प्रत्यक्ष चुनौती हो । घटनामा संलग्न जो कोहीलाई कानूनी कारबाही हुनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
