सिरहामा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ७ बजेदेखि


सिरहा, २२ असोज । दशैंको अवसरमा घर फर्किएका सेवाग्राहीहरूको भीड बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले राष्ट्रिय परिचयपत्र बनाउने समय अगाडि सारेको छ । अबदेखि सिरहा जिल्लामा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहान ७ बजेदेखि नै सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार सेवाग्राहीको अत्यधिक चापका कारण बुधबारदेखि नयाँ समय तालिका लागू गरिएको हो । ‘दशैंका बिदामा घर आएका नागरिकले परिचयपत्र बनाउन भीड बढाएपछि सेवाको समय अगाडि सारिएको हो,’ बरालले भने ।
उनका अनुसार दैनिक दुई सय पचासदेखि तीन सय जनासम्म परिचयपत्र बनाउन आउने क्रम बढेको छ । यो सामान्य समयमा भन्दा दोब्बर हो ।
बरालद्वारा जारी सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि यही नयाँ समय तालिका कायम रहने उल्लेख छ । साथै, कार्यालयले सेवाग्राहीलाई बिहानै उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।
स्थानीय प्रशासनले भीड व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाइरहेको बताउँदै सेवाग्राहीलाई समयमै उपस्थित भई सहज रूपमा राष्ट्रिय परिचयपत्र बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
