मधेशमा कांग्रेस, एमाले र जनमत गठबन्धनद्वारा सरकार गठनको दाबी


जनकपुरधाम, २२ असोज । मधेश प्रदेशको राजनीतिक शक्ति सन्तुलन फेरि बदलिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीको संयुक्त पहलमा बुधबार नयाँ सरकार गठनको दाबी प्रदेश प्रमुखको कार्यालयमा पेस गरिएको छ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव, नेकपा एमालेका सरोज कुमार यादव र जनमत पार्टीका महेश प्रसाद यादवले संयुक्त रूपमा प्रदेश प्रमुखसमक्ष सरकार गठनको औपचारिक दाबी पेश गरेका हुन्।
प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा तीन दलका जम्मा ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको उल्लेख गरिएको छ । हाल मधेश प्रदेशसभामा दुई जना सांसद निलम्बित रहेकाले १०५ सदस्य सक्रिय छन् ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमतका आधारमा सरकार गठन गर्न सकिने प्रावधानअनुसार दाबी गरिएको हो ।
पत्रमा भनिएको छ, ‘हामी मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन राजनीतिक दलका जम्मा ५८ जना सांसदहरूको बहुमतका आधारमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गर्छौं ।’
सत्ता समीकरणमा लामो समयदेखिको तानातानीपछि तीन दलबीच बुधबार साँझ सहमति जुटेको हो । एमालेका संसदीय दलका नेता सरोज कुमार यादव, कांग्रेसका नेता कृष्ण प्रसाद यादव र जनमत पार्टीका नेता महेश प्रसाद यादवबीच प्रदेशको राजनीतिक स्थायित्व र सुशासनलाई प्राथमिकता दिने साझा अडानसहित गठबन्धनको घोषणा गरिएको छ ।
एमालेका नेता सरोज यादवले भने, ‘अब मधेशमा अस्थिरता अन्त्य गरेर काम गर्ने सरकार बनाउने हाम्रो उद्देश्य हो । यो गठबन्धन प्रदेशको विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्नका लागि बनेको हो ।’
त्यस्तै, जनमतका नेता महेश यादवले भने, ‘जेनजी आन्दोलनपछि देखिएको राजनीतिक संकट समाधानको यही सही बाटो हो । जनताको म्यान्डेटको सम्मान गर्दै हामी नयाँ नेतृत्वमा अघि बढिरहेका छौं ।’
यो नयाँ गठबन्धनको दाबीपछि हालका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वको सरकार अल्पमतमा पुगेको छ । सिंह नेतृत्वको सरकारबाट नेकपा एमाले र नेपाली कांग्रेसका मन्त्रीहरू पहिले नै बाहिरिइसकेका छन् । जनमत पार्टीले पनि औपचारिक रूपमा समर्थन फिर्ता लिइसकेको छ ।
मुख्यमन्त्री सिंहले भने असोज २८ गतेभित्र विश्वासको मत लिने अधिकार रहेको भन्दै राजीनामा दिन अस्वीकार गरेका थिए । तर, अब उनको सरकारमा लोसपा नेपालकी एक मात्र मन्त्री रानी शर्मा तिवारी मात्रै बाँकी छन् ।
तीन दलको संयुक्त बहुमतसँगै कृष्ण प्रसाद यादव नेतृत्वको नयाँ सरकार गठनको सम्भावना अत्यन्तै बलियो बनेको छ । प्रदेश प्रमुखको कार्यालयले अब संवैधानिक प्रक्रिया पूरा गर्दै नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
यादवले सञ्चारकर्मीहरूसँग भने, ‘हामी अहिले सहमतिको चरणमा छौं । मन्त्रालय बाँडफाँड पछि टुंगो लाग्नेछ । अहिलेको प्राथमिकता भनेको प्रदेशमा स्थिर सरकार सुनिश्चित गर्नु हो ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
