रौतहट, २१ असोज । रौतहटको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूले बक्यौता तलब र सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नगरपालिकाका वडा नं. १ देखि ९ सम्म कार्यरत करार र ज्यालादारी कर्मचारीहरूले मंगलबार योजना प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै आफ्नो माग तुरुन्त सम्बोधन गर्न आग्रह गरेका हुन् ।

ज्ञापनपत्रमार्फत उनीहरूले महिनौंसम्मको तलब र सुविधा नपाएको गुनासो गर्दै पटक–पटक माग गर्दा पनि नगर प्रमुख अजय प्रकाश जैसवालले आश्वासन मात्र दिएको तर समस्या समाधानमा कुनै ठोस कदम नचालेको आरोप लगाएका छन् ।

‘हामीहरूलाई बारम्बार आश्वासन मात्र दिइँदै आएको छ । अब बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

कर्मचारीहरूले चेतावनी दिँदै भनेका छन्, ‘यदि अब पनि माग पूरा भएन भने हामी शान्तिपूर्ण धर्ना, वडा कार्यालयहरू बन्द र आवश्यकता अनुसार नगरपालिका कार्यालय नै बन्द गर्ने कार्यक्रममा जानेछौं ।’

ज्ञापनपत्र बुझ्दै योजना प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले भने प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली बिदामा रहेको र उनी कार्यालयमा फर्किएपछि मात्रै निर्णय गर्न सकिने बताएका छन् ।

तीन दर्जनभन्दा बढी करार तथा ज्यालादारी कर्मचारीहरूको उपस्थितिमा बुझाइएको उक्त ज्ञापनपत्रमा तत्काल बक्यौता तलब र सेवा–सुविधा भुक्तानीको माग गरिएको छ ।

कर्मचारीहरूले समस्या समाधानमा ढिलाइ भए आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।