–ज्योति झा
जनकपुरधाम, १७ असोज ।
रावण एक यस्तो नाम, जुन कहिल्यै पुरानो हुँदैन । संस्कृत साहित्य, हिन्दू धर्मशास्त्र र दर्शनमा रावणको नाम केवल एक खलनायकको रूपमा नभई एक महान विद्वान, तपस्वी, राजनीतिज्ञ र शिवभक्तको रूपमा पनि स्मरण गरिन्छ । पुलस्त्य ऋषिको पुत्र र दशानन भनेर चिनिने रावणका दश मुखहरू केवल शारीरिक बनावट मात्र नभई बहुआयामी ज्ञान, शक्ति र बुद्धिको प्रतीक हुन् । वेद, उपनिषद्, आयुर्वेद, तन्त्र, संगीत, ज्योतिष र युद्धशास्त्रमा उनले प्राप्त गरेको ज्ञान सामान्य मानवका लागि कल्पनातीत थियो ।

रावणले रचना गरेको ‘शिव ताण्डव स्तोत्र’ आज पनि हिन्दू भक्तिहरूमा अत्यन्त श्रद्धाका साथ गाइन्छ । भगवान शिवका परम भक्तको रूपमा उनले कठोर तपस्या गरी अनेक वरदान प्राप्त गरे । ब्रह्मा र शिवबाट प्राप्त शक्तिहरूले उनलाई अजेय बनायो । लङ्का नगरीलाई उनले ‘स्वर्ण नगरी’ बनाएका थिए । समृद्धि, वैभव र स्थापत्यकला सन्दर्भमा यो एक अद्वितीय उदाहरण थियो । यो समृद्धि बाह्य सौन्दर्य नभई ज्ञानको पनि प्रतीक थियो ।

रावण केवल विद्वान मात्र थिएनन् । उनी एक कुशल वक्ता, राजनीतिज्ञ र रणनीतिकार पनि थिए । वाल्मीकि रामायण वा कंबन रामायणजस्ता ग्रन्थहरूमा रावणका संवादहरू उच्च स्तरका तर्क, दर्शन र राजनीतिक विवेकले भरिएका छन् । उनी बहस र विचारमा निपुण थिए, जुन कुरा आजका नेताहरू वा समाजसेवीहरूले अध्ययन गर्न सक्नेछ ।

रावणमा गुणहरूको कमी थिएन । तर, एउटा कमजोरी, अहंकार । जुन कुनै पनि व्यक्तिको सर्वनाशको जड हुन सक्छ । त्यसलाई उनले नियन्त्रण गर्न सकेनन् । सीताको हरण रावणको जीवनको सबैभन्दा ठूलो भूल थियो । यही उनको विनाशको कारण बन्यो । सीता हरणपछि उनले बल प्रयोग नगरी उनलाई महरानी बनाउन प्रस्ताव राखे । सबै सुख–सुविधा दिए । तर, धर्मको मर्यादा र नारीको इच्छा त्याग गर्दै उनले अपहरणको गल्ती गरे । त्यसले गर्दा उनको सम्पूर्ण जीवन र राज्य नष्ट भयो ।

रावण पूर्ण रूपमा न त दुष्ट थिए, न पूर्ण रूपमा सत्पुरुष । उनी श्रावक मात्र नभई तत्त्वज्ञानी थिए । तर ज्ञान, शक्ति र भक्ति हुँदा पनि जब अहंकार नियन्त्रणमा रहँदैन, तब त्यो व्यक्तिको विनाश सुनिश्चित हुन्छ । रावणको जीवनले हामीलाई यही पाठ दिन्छ । ज्ञान, शक्ति वा भक्ति मात्र पर्याप्त छैन, जबसम्म नैतिकता, विवेक र विनम्रता हाम्रो साथ हुँदैन ।

आज हामी हरेक वर्ष दशहरामा रावणको पुतला जलाउँछौं । हामी ‘रामको विजय’ र ‘रावणको पराजय’लाई मात्र बाह्य रूपमा मनाउँछौं । तर, गम्भीर प्रश्न यो हो । के रावण जलाउनेहरू साँच्चै रामका अनुयायी हुन्? के उनीहरू राम जस्तै नैतिक, मर्यादित, सत्यवादी र स्त्रीको सम्मान गर्छन्? के आजका समाजमा सीता छन्? जसले साहस, धर्म, पतिव्रता, संस्कार र आत्मसम्मानको उच्चतम उदाहरण प्रस्तुत गर्छिन्? आज कतिपय सन्दर्भमा सीता बन्ने ढोंग गरिन्छ । तर, सत्यको सामना गर्न, सहनशील बन्न वा आदर्शको पालन गर्न कम नै देखा पर्छ । समाजले ‘राम’ र ‘सीता’ लाई आदर्शको रूपमा व्याख्या त गर्छ, तर व्यवहारमा उनीहरूको मूल्य, त्याग र मर्यादालाई आत्मसात् गर्न सक्दैन ।

आज ‘राम’ बन्नेहरू आमाबाबु, पत्नी, सन्तान र समाजप्रति उत्तरदायी छैनन् । अनेक ‘रावण’हरू आज समाजमा देखिन्छन् । बलात्कार, शोषण, नारीमाथि अत्याचार, दुव्र्यवहार, घमण्ड, लालच र अधर्मका रूपमा । त्रेतायुगको रावण आजका कलियुगी रावणहरूसँग तुलना गर्दा धेरै उच्च लाग्छ ।

पत्रकार रिंकु गायत्री मिश्रको भनाइ अनुसार विजयादशमीको दिन रावण बध गर्ने परम्परा जनकपुरधाममा केही वर्षदेखि मनाउन थालिएको छ । यहाँ रावणको मूर्ति बनाएर कुनै महन्त, नेता वा क्लबका व्यक्तिले बध गर्छन् । भारतमा विजयादशमीको दिन भगवान रामले रावणलाई पराजित गरेको सम्झनामा रावण बध गरिन्छ । तर, जनकपुरधाम भनेको सीता माताको माइती हो । यहाँ रामले रावण बध गरे भन्ने कथा भन्दा पनि यो ठाउँले सीता माताको सम्मान झल्काउँछ । यही कारणले जनकपुरधाममा कसैले पनि ‘राम’ बनेर रावण बध गर्नु उचित होइन । बरु प्रविधिको प्रयोग गरेर रामले रावणलाई पराजित गरेको दृश्य देखाउन सकिन्छ । यसले परम्परा र भावनाको सन्तुलन राख्छ ।

हामी ‘राम’ बन्ने नभई रामजस्तो बन्ने प्रयास गरौं । न्याय, संयम र आदर्शका बाटोमा हिँडौं । यही हो सच्चा विजयादशमीको सन्देश ।
जनकपुरधाम वडा नं. ४ की सामाजिक अभियन्ता रुबी झा भन्छिन्, ‘रावण बध त त्रेतायुगमै रामले गरेका थिए । तर, आजको समाजमा रामजस्तो चरित्र खोज्दा पनि भेटिँदैन । रामको एक प्रतिशत गुण समेत नहुँदा रावणजस्ता विद्वान, महापण्डित पात्रको हत्या गरेर उसको अस्तित्वलाई मजाक बनाउनु आफैँमा विडम्बनापूर्ण कुरा हो ।’

उनको भनाइमा आजको रावण बध कार्यक्रम केवल एक मेला वा मनोरञ्जनको विषय बनिरहेको छ । उनी भन्छिन्, ‘रावण बध हेर्न जानेहरू पहिला आफु भित्रको अहंकार, घमण्ड, द्वेष, लोभ जस्ता नकारात्मक प्रवृत्तिहरूलाई मार्न सिक्नुपर्छ । राम बन्नु पहिले आवश्यक छ । अनि मात्रै रावण बधको सन्देश सार्थक हुन्छ । नत्र त यो केवल टिकटकको सामाग्री बन्ने, हाँसो र रमाइलोमा सीमित हुने मेलाजस्तो मात्र हो ।’

त्यस्तै शिवचोकका निखिल अग्रवाल भन्छन्, ‘त्रेतायुगदेखि नै परम्पराको रूपमा रावण बध मनाउने चलन चल्दै आएको हो । अब यो परम्परा बनिसकेको छ । यसलाई निरन्तरता दिनु आवश्यक छ । यसमा अनावश्यक टिप्पणी गर्नु उचित हुँदैन । तर, रावण बध गर्ने व्यक्ति रावण जत्तिकै पुरुषार्थी र चरित्रवान हुनुपर्छ । केवल नेताको हैसियत छ । धन सम्पत्ति वा पहुँच छ । वा, मन्दिरको महन्त भएकै आधारमा कसैलाई रावण बध गर्ने अधिकार दिनु न्यायसंगत हुँदैन ।’

रावण एउटा दर्पण हो । जहाँ ज्ञान, शक्ति, भक्ति र अभिमान एउटै पात्रभित्र समाहित छन् । आजको समाजले रावणको अन्त्य मात्र नभई उनको जीवनका शिक्षाहरू पनि बुझ्न जरुरी छ । रावणको वध केवल बाह्य रूपमा नभई हाम्रो भित्रको ‘अहंकार’, ‘लालच’, ‘अधर्म’ र ‘अन्याय’लाई पनि समाप्त गर्ने सन्देश हो ।