मातृशक्तिलाई पूजा गर्ने समाजमै किन नारी असुरक्षित?

–ज्योति झा
जनकपुरधाम, १३ असोज । हाम्रो पौराणिक ग्रन्थहरु र हिन्दू परम्परामा नारीलाई पूजनीय र देवीतुल्य भनिएको छ । हिन्दू परम्परामा नारीको स्थान अत्यन्त महत्वपूर्ण, गरिमामय र आदरणीय रूपमा वर्णन गरिएको छ । वेद, पुराण तथा रामायण, महाभारतजस्ता महाकाव्यहरूले नारीलाई देवी स्वरूप, सृष्टिको मूल र शक्तिको प्रतीकको रूपमा व्याख्या गरेका छन् । शक्तिको मूर्त रूप ‘नारी’ हो भन्ने विश्वास गरिन्छ । ‘मातृ देवो भव’ अर्थात् आमा देवताजस्तै हुन् । जन्म दिने, पालन पोषण गर्ने भूमिकामा नारीको स्थान सर्वोच्च छ । नारीलाई परिवारको लक्ष्मी अर्थात् गृहलक्ष्मी मानिन्छ । घरको समृद्धि, सन्तुलन र संस्कारको केन्द्र नारी नै हो ।
नारी जीवनदायिनी शक्ति हो । नारी सृजनाशक्ति हो । उसले जीवन दिन्छ, पालन गर्छ, संस्कार दिन्छ र समाज बनाउँछ । र, जब नारी आफ्नो गुण बिर्सिन्छ भने विनाश र बर्बाद पनि गर्छन् । शिक्षा र संस्कारको आधार हो नारी । परिवार र समाजमा संस्कारको बीउ नारीबाट नै रोपिन्छ । एक शिक्षित नारीले पुस्तालाई शिक्षित बनाउँछे । आजको युगमा नारी केवल गृहिणी मात्र नभई ऊ नेता, वैज्ञानिक, शिक्षिका, प्रहरी, डाक्टर, उद्यमी जस्ता भूमिकामा समान रूपमा क्रियाशील छन् । पुरूषको कन्धामा कन्धा मिलाएर हिड्ने क्षमता राख्छिन् ।
नारीमा दुर्गा जस्तो शक्तिशाली र अन्नपूर्णा जस्तो पोषक शक्ति दुवै गुण हुन्छन् । तर, पनि यतिसम्म बुझेर पनि हामी कसरी कुनै नारीको अस्मितासँग खेलवाड गर्न सक्छौं ? हाम्रो समाजमा प्रायः हरेक दिन यस्तो घटना घट्छ जसले स्पष्ट हुन्छ कि नारी सुरक्षीत छैनन् । जबकी नारी कुनैपनि मानिसको पहिलो शिक्षिका हुन् । तर, यहाँ ज्ञान बाँड्ने शिक्षिकालाई नै अन्धकारमा धकेलिन्छ । दाईजोको लागि मारिन्छ । इज्जतसँग खेलिन्छ । छोरी हो भनेर गर्भमै ज्यान लिइन्छ । जहाँ हामी बसेका छौं धर्ती महिला नै हुन्, विद्या बुद्धि दिने माता सरस्वती पनि महिला नै हुन्, धन दिने लक्ष्मी महिला नै हुन्, प्रकृति महिला नै हुन् र जन्म दिने आमा पनि महिला हुन ।
शिवको शक्ति महिला हुन । त्यति मात्र नभइ राष्ट्रको सम्बन्धलाई प्रगाढ बनाउने र बेटीरोटीको सम्बन्ध कायम राख्ने महिला नै हुन् । फेरि म यो भन्दिन कि महिलाभन्दा पुरुष कम छन् । पुरुषको पनि आफ्नो बेग्लै विशेषता र महत्व छ । महिला पुरुष दुबै एक अर्काका परिपुरक हुन । एक बिना अर्कोको अस्तित्व छैन् । दुबै सम्मानिय र पुजनीय छन् । दुबै बराबर छन् । तर, दुर्भाग्य हाम्रो समाजमा बोक्सी नारी हुन्छन्, पुरुष हुँदैनन् । पुरुष भने धामी र झाँक्री रे ! आखिर किन ?
हामी नवदुर्गाको नौ रूपको पुजा गर्छौं, कुमारी भोजन बिना माताको पुजा अधूरा अपूर्ण रहन्छ भन्छौं । र, नवरात्रमा कुमारीलाई आदर सत्कार र उनीबाट आशीर्वाद लिन्छौं । तर, त्यही नवदुर्गाको रुप कन्यालाई अपमान, बलात्कार, शोषण अपमान गर्छौं । कस्तो नियत, सोच हाम्रो । दुर्गा पूजामा कन्या पुजा बाँकी दिन त्यही कन्यालाई लुट्ने, मार्ने, बलात्कार गर्ने षड्यन्त्र..! मलाई त सबभन्दा लाजमर्दो कुरा के लाग्छ भने नवदुर्गाको नौ स्वरूपलाई पुजा गर्ने फेरि पुरुष नै हुन्छन् । मैले आजसम्म देखेकोमा हरेक माताको मन्दिरमा पूजा गर्ने पुरोहित पुरुष महानुभावलाई नै देखेकी छु । तर, दुर्भाग्य नारीको अस्मिता लुट्ने पुरुष नै हुन्छन् । जनकपुरधाममा नवरात्र प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लाग्छ ।
अन्नपूर्णा माई, बौद्धीमाई, पिडरियामाई, दक्षिणकाली, सोनासती, फुलेश्वरीमाईलगायत सबै शक्तिपीठहरूमा बिहानदेखि रातिसम्म भिड हुन्छ । त्यसैमध्ये नवरात्रभरि जनकपुरधामको राजदेवी मन्दिरमा महिलालाई प्रवेश निषेध हुन्छ । पुरुष र महिला दुबैको आफ्नो बिशेष र खास स्थान छ । केही ठाउँ मन्त्र पुजा पुरुषलाई वर्जित छ भनें केही महिलाका लागी वर्जित छन् । यसको धेरैं महिला अधिकारकर्मी, पत्रकार र आमजनसमुदाय विरोध पनि गरेका छन् र गरिरहेका छन् । तर, कतिले समर्थन पनि जनाउँछन् । कति जनाले भन्छन् कि माताको पुजा गर्ने र माताकै स्वरूप नारीलाई मन्दिर जान नदिनु नारीको अपमान हो ।
देवताका लागि सबै मानिस समान हुन्छन् । तर, हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् जुन आधुनिक समाजमा पचाउनै गाह्रो हुन्छ । तर, हाम्रो आधार, अस्तित्व पौराणिकतासँग जोडिएको छ । कुनै पनि परम्परा, नियम बनाउनमा हाम्रो पुर्खाले केही न केही सोचेर नै बनाएका हुन्छन । हामी आफूलाई जति मोडेल भन्दा पनि आज पनि कुनै त्यौहारमा कसैको घरमा केहि घटना हुँदा हामी त्यो मनाउन छोड्छौं । हाम्रो संस्कार, संस्कृति, परम्परा, पूजापाठको मुख्य जडो पौराणिकता हो । तर, अहिले आधुनिकता, सामाजिक सञ्जल वाहवाही र भाषणमैत्री भइरहेको छ ।
अन्य सबै मन्दिरमा महिलालाई जान दिइएकै छ । भारतमा यस्ता केही मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै प्रवेश गर्दछन् । केरलाको अत्तुकल भगवती मन्दिर यस्तो मन्दिर हो जहाँ महिलाको पुजा हुन्छ । उक्त मन्दिरमा पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । भारतको राजस्थानस्थित पुष्करमा रहेको ब्रम्हा मन्दिर विश्वको एकमात्र मन्दिर हो । यो १४औँ शताब्दीमा बनेको हो । उक्त मन्दिरमा विवाहित पुरुषलाई जान बर्जित छ । भारतको तमिलनाडुस्थित कन्याकुमारी शहरमा रहेको भगवती मन्दिरमा पनि विवाहित पुरुषलाई जान निषेध छ ।
त्यति मात्र नभई विहारको मुजफ्फरपुरमा रहेको माता मन्दिरमा पनि वर्षका केही दीन विशेष पुजाका बेला पुरुषको प्रवेश निषेध गरिन्छ र महिलाहरु मात्र मन्दिरमा जान्छन् । भारतको आसाममा रहेको कामाख्या मन्दिरमा रजश्वला उत्सव मनाइन्छ । त्यसबेला मन्दिरमा पुरुषको प्रवेशमा रोक लगाइन्छ । त्यसबेला केवल महिला सन्त तथा सन्यासीले मात्र मन्दिरमा पुजा गर्दछन् । अनि के पुरुषले पनि यसलाई अपमान र अधिकार वञ्चित बुझ्ने हो त ? हाम्रो सनातन धर्म संस्कृति परम्परा मान्ने हो भने त्यस अनुसार चल्नु पनि पर्छ । महिला पुजनीय छन् तर, महिला सीता र सुपनेखा दुइटै हुन् । तपाईं आफूलाई सोध्नुस् कसको पुजा गर्नु हुन्छ ।
हामीले या त परम्परा मान्नुपर्छ या त आधुनिकतामा बाच्नु पर्छ । तर, अहिले न परम्पराको अनुशरण गरिन्छ न आफूलाई आधुनिक पश्चिमी सभ्यतामा उत्रेको स्वीकार गरिन्छ । मान्छे दोधारमा छन् । जहाँ जो अधिकारी हुन्छ, त्यहाँ त्यसैलाई नै शास्त्रले अधिकार दिएको छ । कतै भेदभाव गरेको छैन । कर्मअनुसार केही तलमाथि हुनुलाई भेदभाव मान्नु उचित होइन । शास्त्रलाई रुढीवादी भन्दै यसका आफू अनुकूलका विधि–विधान सही अरू सबै खराब मात्र भन्ने हुन सक्दैन । आजभोलि आधुनिक र बुद्धिजीवी देखिन कायम परम्परालाई नमान्ने र त्यसको अन्तर्वस्तु नबुझी आलोचना गरिहाल्ने फेसन भएको छ । के हामी साँच्चै आफ्नो परम्परालाई गहिरोसँग बुझ्ने प्रयास गरेका छौँ ? आज हामी जे गरिरहेका छौँ, के त्यो साँच्चिकै प्राचीन र सनातन नै हो ?
नारी पूजनीय छन्, धर्मशास्त्रले नारीलाई आद्यशक्ति मानेको छ । समाजका हरेक कर्मकाण्डमा दम्पतीसहित हुनुपर्ने प्रावधानले पनि नारी र पुरुषलाई समान स्थान दिएको स्पष्ट हुन्छ । सीमित कर्मको विधि विधानको आधारमा लैङ्गिक भेदभाव भयो भनेर व्याख्या गर्नु न्यायसङ्गत तर्क हुन सक्दैन ।

