जनकपुरधाम, ८ असोज । बडादशैँको अवसरमा मिथिला क्षेत्रमा झिझिया नृत्यले गाउँघर र शहरमा रौनकता थपेको छ ।

महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितको तराई मधेशका सबै जिल्ला तथा भारतको सीतामढी र मधुवनीमा यस लोकनृत्यले विशेष आकर्षण पाएको छ ।

जलेश्वर नगरपालिका–१ का प्रसिद्ध बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकका अनुसार झिझिया नृत्य घटस्थापनादेखि विजयादशमीसम्म तान्त्रिक विधिअनुसार गरिन्छ र देवी दुर्गालाई स्तुति गर्ने उद्देश्य रहन्छ । झिझिया नृत्यलाई सुख, समृद्धि, परिवारको सुरक्षा र सन्तानको रक्षा गर्ने लोक अनुष्ठानको रूपमा मानिन्छ ।

संस्कृतिविद् ध्रुव रायले भने, ‘यो नृत्यले समाजमा रहेका नकारात्मक शक्तिबाट परिवार र सन्तानको सुरक्षा गर्ने विश्वास व्यक्त गर्छ ।’ जलेश्वर–८ का पण्डित अनिल पाठकले भने, ‘झिझियामा माता दुर्गाको स्तुति मुख्य उद्देश्य हो । यसमा सामुदायिक र धार्मिक भावना मिसिएको हुन्छ ।’

झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने प्रवृत्ति यसको सांस्कृतिक र धार्मिक विशेषता झल्काउने माध्यम हो । जलेश्वर–८ की महिला बुधनी देवीले भनिन्, ‘टाउको दायाँ–बायाँ हल्लाउँदै नाच्नुले नकारात्मक शक्तिबाट रक्षा र माता दुर्गाको कृपा पाइन्छ ।’

मिथिलामा झिझिया नृत्यको इतिहास र मौलिकता प्राचीन छ । बालबालिका, किशोरी र युवतीदेखि लिएर वृद्धसम्म यसमा सहभागी हुन्छन् । नृत्य प्रदर्शनमा टाउकोमा राखिएको घैटो र त्यसमा उज्यालो दिइरहेको आगोको डल्ला राखेर नाच्नु आफैँमा कलात्मक र साहसिक प्रदर्शन हो ।

स्थानीयहरूले यस नृत्यलाई केवल धार्मिक अनुष्ठान नभई सांस्कृतिक धरोहर र सामाजिक एकताको प्रतीकका रूपमा पनि महत्व दिएका छन् । दशैँको समयमा झिझिया नृत्यले सम्पूर्ण मिथिलाञ्चलमा सांस्कृतिक जीवन र धार्मिक रौनकता दुबै बढाएको छ ।