जनकपुरधाम, १ असोज । तराई मधेश लोकतान्त्रिक पार्टीले असोज ३ गते शुक्रबार ‘कालो दिवस’ मनाउने निर्णय गरेको छ । पार्टीको जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले यस विषयमा औपचारिक निर्णय गरेको हो ।

पार्टीकी नेतृ बिभा ठाकुरका अनुसार संविधान घोषणा भएयता पनि तत्काल सीमांकन, पहिचान, समावेशिता र अन्य महत्वपूर्ण मागहरू सम्बोधन नभएकाले आन्दोलनमा संलग्न शान्तिपूर्ण निहत्था आन्दोलनकारीमाथि गरिएको दमन र हत्याको विरोधमा यस दिन कालो दिवस मनाउने निर्णय गरिएको हो ।

ठाकुरले शहीदहरूको सम्मान र श्रद्धाञ्जली अर्पणको अवसरको रूपमा जनकपुरधामको जनकचौकमा विशेष कार्यक्रम आयोजना हुने जानकारी दिइन् ।

पार्टीले कार्यक्रममा शहीदहरूको सम्झनामा मौन र श्रद्धाञ्जली सभा राखिने जनाएको छ । श्रद्धाञ्जली सभामा प्रदेशभरिका नेता, कार्यकर्ता तथा आम नागरिक सहभागी हुने अपेक्षा गरिएको छ ।

बैठकमा सहभागी नेताहरूले यस दिनलाई स्मरणीय बनाउँदै संविधान संशोधन र मधेशी जनताको मागलाई राष्ट्रिय स्तरमा पुर्याउने अभियानलाई थप सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघि पनि पार्टीले प्रत्येक वर्ष असोज ३ गते कालो दिवस मनाउँदै आएको थियो । यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउन विभिन्न स्थानीय समिति तथा भातृसंगठनहरूले तयारी थालिसकेका छन् ।