जनकपुरधाम, ३१ भदौ । मधेश प्रदेश सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जय कुमार यादवले राजीनामा भदौ २४ गते दिएको भए पनि मंगलबार सार्वजनिक गरिएको छ । दुवै मन्त्रीहरूले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् पनि राजीनामा घोषणा गरेका छन् ।

यसअघि, जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले गत शनिबार मुख्यमन्त्री सतिश कुमार सिंहसहित दुवै मन्त्रीलाई फिर्ता बोलाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका थिए । मंगलबार दिउँसो प्रदेश सभामा सभामुख रामचन्द्र मण्डललाई पनि सरकारसँगको समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीसहित मन्त्रीहरू फिर्ता बोलाइएको पत्र बुझाइएको थियो ।

यस घटनाक्रमसँगै मन्त्रीहरू कुशवाहा र यादवको पद स्वतः समाप्त भएको भएको छ । तर, मुख्यमन्त्री सिंह अहिलेसम्म पदबाट राजीनामा दिएका छैनन् । उनले भदौ २४ गते फेसबुकमा राजीनामा घोषणा गरे पनि प्रदेश सभा विघटन नभएको कारण पद नछोड्ने अडानमा रहेका छन् ।

जनमत पार्टीले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय सरकारमा अस्थिरता र पार्टी भित्रको दबाबका कारण लिएको हो । पार्टी नेतृत्वको आलोचना बढेपछि सरकारभित्रको बहुमत कमजोर बन्न पुगेको छ ।

मुख्यमन्त्री सिंहले अहिलेसम्म लिखित रूपमा राजीनामा नदिइ विश्वासको मत लिने अडानमै रहेको बुझिएको छ । यसले मधेश प्रदेशमा आगामी दिनमा राजनीतिक अस्थिरता र सत्ता समीकरणको अनिश्चितता अझ बढ्ने देखिएको छ ।