सार्वजनिक कार्यभारमा नयाँ अध्याय


काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नयाँ सरकारले तीन जना महत्वपूर्ण मन्त्रीको टुंगो लगाएको छ । सरकारी स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल, गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ ।
स्रोतका अनुसार अर्यालले कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नेछन् भने घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
‘यो प्रारम्भिक सूची हो, भविष्यमा जिम्मेवारी थपिन सक्ने सम्भावना छ,’ स्रोतले भन्यो । उनीहरूको नियुक्ति पत्र बनिसकेको छ भने शपथ ग्रहण सोमबार बिहान हुने तयारीमा छ ।
अर्थमन्त्री नियुक्त खनाल हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाइसकेका छन् । उनी पूर्वसचिवसमेत रहिसकेका छन् ।
गृह र कानुन मन्त्रालयको जिम्मेवारी पाउने अर्याल कानुन व्यवसायी हुन् । उनले विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण पहिलेदेखि चर्चामा रहँदै आएका थिए । पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकारका रुपमा कार्यरत थिए ।
ऊर्जा मन्त्रालयसहित अन्य तीन मन्त्रालयको जिम्मेवारी पाउने घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् । उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा बर्खास्त भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
