सन्तानको कल्याणका लागि मनाइने व्रत ‘जितिया’

–ज्योति झा
जनकपुरधाम, २९ भदौ । तराई मधेशमा जितिया पर्व सुरु भएको छ । तराई जसलाई हामी मिथिलाञ्चल, मिथिला भनेर पनि चिन्छौं । मिथिलाञ्चल पर्व र त्यौहारको मामिलामा एकदमै धनि छ । यहाँ यस्ता धेरै पर्व छन्, जसको आ–आफ्नै विशेषता र महत्व छ । त्यसै पर्वहरूमध्येको एक हो जितिया । यसलाई तराई–मधेशको महान पर्व पनि भनिन्छ । यो पर्व तराईवासीहरूका लागि धेरै महत्वपूर्ण र विशेष छ । छठ जस्तै कठोर र नियम निष्ठा भएको जितिया पर्वलाई तराईवासीले श्रद्धा र भक्तिले मनाउने गर्छन् ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको छ । यस पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर हुन्छ । यसमा स्वर्गवास भएको सासु वा आमाको नाममा नैवेद्य चढाइन्छ र ‘पितरैन’ खुवाइन्छ । त्यसमा पनि सासु पहिला स्वर्गबास भएको छ भने आमा र सासु दुवैको नाममा पितरैन खुवाइन्छ । तर, यदि सासुभन्दा पहिला आमा बित्नुभएको छ भने जबसम्म सासु परलोक जानु हुन्न तबसम्म पितरैन खुवाउन मिल्दैन । पितरैनलाई दिवगंत भएका सासु र आमाको रूप बुझिन्छ ।
उपवास बसेका दिन ब्रतालुले मुखमा थुक निल्न, खकार वा जिब्रो टोकेमा ब्रत असफल भएको मानिन्छ । र, ब्रत असफल भएमा यसको नकारात्मक असर पर्ने बुझाई आमजनमा छ । त्यसैले पनि जितिया पर्वलाई कठोर पर्व पनि भनिन्छ । असफल भएकी ब्रतालुले आजीवन ब्रत बस्न नपाउने नियम छ ।
जितिया पर्व पनि छठ जस्तै तीन दिनसम्म चल्छ । जसमा पहिलो दिन चोखो भएर विभिन्न मिष्ठान्न परिकार खाइन्छ । यस्तै दोस्रो दिन ब्रतीहरू निराहार ब्रत बस्छन् र तेस्रो दिन ब्रतको अन्त्य हुन्छ । यो पर्व खास गरेर तराई मधेश, मिथिला, भारतको बिहार र उत्तर प्रदेशको केही ठाउँहरूमा पनि श्रद्धापूर्वक मनाइन्छ ।
आश्विन कृष्णअष्ठमीमा आफ्ना सन्तानको मङ्गल कामना र लामो आयूको लागि महिलाहरू जितियामा ब्रत बस्ने गर्छन् । ब्रतको पहिलो दिन नदी, पोखरीमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर लगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहन भगवानलाई चढाउने गर्दछन् ।
शनिबार जनकपुरधामको गंगासागर, धनुषसागर, अरगजा पोखरी लगायत सरोवर, तलाउमा नहाय खाय विधि गरिएको छ । गंगासागर पोखरीमा ब्रतालुहरुको भीड लागेको थियो । ब्रत बस्नु अघिल्लो दिन ब्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउने परम्परा छ ।
देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि टाउको तथा शरीर भर नै लगाउने गरिन्छ । जितियाको पहिलो दिन माछा र कोदोको रोटी खाने परम्परा छ । राति ओटघन पनि गरिन्छ । ओटघनमा चिउरा, दही, केरा, अम्मट खाइन्छ । अम्मट आँपले बनाएको परिकार हो । यस्तो परिकार खानाले आयू बढछ भन्ने धार्मिक मान्यता छ । ओटघन गरेपछि मुलगेटमा बसेर पानी पिउँदै ‘हे ओटघन महाराज ओटघनिया रखिह’ भन्ने प्रचलन छ ।
ब्रतको दोश्रो दिनलाइ खरजितिया भनिन्छ र यो ब्रतको मुख्यदिन पनि हो । दोस्रो दिन ब्रतालुहरू २४ घण्टा लामो निराहार उपवास बस्ने गर्छन् । ब्रत लिएका महिलाहरूले थुक पनि निल्न नहुने धार्मिक मान्यता छ । जितवाहनको पूजा गर्नलाई धुप दीप, चामल, फूल, चन्दन लिएर पूजा गरिन्छ । सँगै माटो अथवा गाईको गोबरले चिल वा स्यालको प्रतिमा बनाइन्छ । गोबरबाट बनाइएको प्रतिमाको टाउकोमा रातो सिन्दुरको टीका लगाइन्छ ।
पूजा समाप्त भएपछि जिवित पुत्रिका ब्रतको कथा सुन्नुपर्छ । यसो गर्नाले पुत्र भएको महिलाको पुत्रको लामो आयू हुने र नभएकोलाई पुत्र रत्नको प्राप्ति भई सुख समृद्धि प्राप्त हुने विश्वास छ । जितियाको सबैभन्दा मुख्य काम डाली भर्नु हो ।
डाली भर्नलाई काँक्रो, नरिवल, बाँसको पात, जियल पात, सरिफाको पात, आखकर, जनै, सुपारी डालीमा राखिन्छ । यसले पुत्रको आयू बढ्छ । ब्रतको तेस्रो दिन अन्तिम दिन हो । यो दिन ब्राम्हणलाई दानदक्षिणा वा भेटी दान गरेपछि खाना खाने गरिन्छ । ब्रतपछि अरू परिकार खान मिल्ने भएता पनि विशेषतः भात, नैनिको साग र कोदोको रोटीलाई सबभन्दा पहिले मुखमा लिने परम्परा छ ।
राजा शालिवहानको राज्यमा एउटी आमाकी सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएको र छोरा दीर्घसम्म बाच्ने भएकाले आमालहरूले त्यस दिनदेखि शालिवहानलाई ‘जिमुतवाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेको किमवदन्ती छ ।

