जनकपुरधाम, २९ भदौ । मधेशको प्राचीन मिथिला क्षेत्रमा आज सन्तानको सौर्यवृद्धि र कल्याणका लागि आमाहरूले जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा स्नान गरी ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानीहरूले निराहार व्रतको विधि अपनाएकी छन् ।

जितिया व्रतको परम्परा असोज कृष्णपक्षको अष्टमी तिथिसँग जोडिएको छ । यसलाई पितृपक्ष पनि भनिन्छ । बर्दिबास–२ की बर्तालु नगिनादेवी महतोका अनुसार शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रत सुरु गरिएको हो । अष्टमी तिथि बिहान ८ः४४ बजेदेखि सुरु भए तापनि ‘ओगटन’ पछि उपवास गर्नुपर्ने परम्परा कायम गरिएको छ ।

व्रत समापनको विधि पनि विशिष्ट छ । मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग अनुसार व्रत भोलि बिहान ७ः०० बजेसम्म पूरा गर्न सकिने छ । पण्डित दिनेशकुमार झाका अनुसार जितिया व्रतको विधान अनुसार एक अहोरात्र कटेपछि नवमी तिथिमा व्रत पूरा गर्नुपर्छ ।

पितृपक्षका दिन हुने यस पर्वमा बर्तालुहरूले सप्तमी तिथिमा पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रतको सङ्कल्प गर्ने चलन छ । सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरूप चढाइन्छ । साथै दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानीरदेवरानी तथा मातृकूललाई सम्झेर व्रत पूरा गर्ने परम्परा छ । यसमा तीन पुस्ताभित्रका दिवङ्गत महिलालाई तर्पण दिइन्छ ।

जितिया पर्वको मुख्य दिनमा बर्तालुहरूले राजा जिमुतवाहनको कथा सुन्छन् । पुराणकथाका अनुसार द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीको दिन एक विधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई व्युताएका थिए । त्यसको स्मरणमा सन्तानको कल्याणको लागि जितिया व्रतको परम्परा सुरू भएको विश्वास मिथिलामा छ । भविष्य पुराणमा पनि यस व्रतको वर्णन छ ।

श्रद्धा र निष्ठासाथ गरिने जितिया व्रतले सन्तानको कल्याण हुने र आमाहरूलाई सन्तानबाट सुख प्राप्त हुने विश्वास मिथिलालीहरू माझ गहिरो रहेको छ । प्रत्येक वर्ष झैँ यस वर्ष पनि आमाहरूले आफ्नो परिवार र सन्तानको दीर्घायु, स्वास्थ्य र सफलता कामना गर्दै व्रतमा जुटेकी छन् ।