जनकपुरधाम, २८ भदौ । जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक रूप लिन पुगेपछि गत मंगलबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा आगजनी र तोडफोड हुँदा करिब सम्पूर्ण संरचना ध्वस्त भएको छ । उपमहानगरका प्रमुख मनोज साहका अनुसार कार्यालयको करिब ९५ प्रतिशत भवन तथा सम्पत्ति जलेर खरानी बनेका छन् ।

साहले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाको भवन जलेको छ । ती भवनमा अब तत्काल कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन ।’ उनका अनुसार विभिन्न शाखा र महाशाखामा रहेका सबै कागजात, फर्निचर, कुर्सी–टेबल, कम्प्युटर, प्रिन्टर, हार्डड्राइभ लगायत अत्यावश्यक सामग्री जलेर नष्ट भएका छन् ।

प्रदर्शनकारीहरूले सवारीसाधनमा पनि आगजनी गरेका छन् । उपमहानगरका मूल्यवान कागजात जलाइएपछि प्रशासनिक कार्य थप अवरोधमा परेको छ । ‘जलेका कागजात, कम्प्युटर र फर्निचर व्यवस्थापन गरेर कार्यालयलाई पुरानै अवस्थामा फर्काउन अझै लामो समय लाग्नेछ,’ प्रमुख साहले भने ।

उपमहानगरपालिकाले प्रदर्शनका क्रममा चोरी भएका सामग्री फिर्ता ल्याउने अभियान सुरु गरेको छ । नगर प्रहरी र सम्बन्धित अधिकारीहरूले लुटिएको सामान संकलन अभियान चलाएका छन् । स्थानीय प्रशासनले चोरीका सामग्री स्वेच्छाले फिर्ता गर्नेहरूलाई कानुनी राहत दिने र नफिर्ता गर्ने वा अवैध रूपमा राख्नेहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ ।

यसैबीच, नेकपा एमालेका नेता शिवशंकर साह ‘हिरा’ ले व्यक्तिगत तर्फबाट १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै उपमहानगरपालिकाको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न अपील गरेका छन् ।

साहले नागरिकसँग शान्ति कायम राख्न र सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘हामी उपमहानगरको व्यवस्थापन र सञ्चालनमा सक्दो प्रयास गरिरहेका छौँ । तर, यो घटनापछि नागरिकले पनि शान्ति र सुरक्षा कायम राख्न मद्दत गर्न आवश्यक छ ।’

कार्यालयको दैनिक प्रशासनिक कार्य अवरुद्ध हुँदा सर्वसाधारणले आवश्यक सेवा पाउन कठिनाइ भोग्न थालेका छन् । उपमहानगरले तत्कालिक आवश्यकतालाई प्राथमिकता दिँदै अस्थायी व्यवस्थाबाट सेवा सञ्चालन गर्ने तयारी थालेको छ । यद्यपि, पूर्ण रूपमा उपमहानगरलाई पुरानै अवस्थामा फर्काउन अझै लामो समय लाग्ने प्रमुख साहले बताए ।