जनकपुरधाम, २८ भदौ । गत मंगलबार मधेश प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीका कारण करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ । सभामुख रामचन्द्र मण्डलले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार घटनाका क्रममा सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि सचिवालयका अन्य शाखाहरू पूर्णरूपमा प्रभावित भएका छन् । ‘प्रदर्शनकारीहरूले कार्यालय क्षेत्र मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेका छन्,’ सभामुख मण्डलले भने ।

तोडफोडमा सचिवालयको एउटा हायस गाडीमा आगजनी गरिएको छ भने सभामुख मण्डलकै निजी गाडीको सिसा फुटाइएको छ । कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखालगायतका मूल्यवान सामग्री जलाइएका वा लुटपाट गरिएको उनले जानकारी दिए ।

यसैबीच, मण्डलको निवासमा समेत प्रदर्शनकारी प्रवेश गरेको र उनकी श्रीमतीको झन्डै ३ तोला सुनका गरगहना समेत लुटिएको उनले बताए । ‘आक्रोशले यति चरम रूप लिनु निकै दुःखद छ,’ मण्डलले भने, ‘सार्वजनिक सम्पत्तिको मात्र नभई मेरो निवासमा समेत आक्रमण भएको छ ।’

प्रदेश सभाभित्र रहेको मिडिया सेन्टरसमेत अछुतो रहेन । त्यहाँ रहेका कम्प्युटर र टेलिभिजन समेत चोरी भएको सचिवालयले जनाएको छ ।
सभामुख मण्डल हाल जनकपुरधाम बाहिर रहेकाले घटनाको प्रत्यक्ष प्रतिक्रिया दिन नसके पनि फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् ।

सचिवालयका अनुसार तोडफोडपछि कामकाज ठप्प भएको छ । सुरक्षा निकायले भने घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।