मधेश प्रदेशमा अपराधमा कमी, मृत्यु दरमा वृद्धि


जनकपुरधाम, १६ साउन । मधेश प्रदेशमा गत वर्षको तुलनामा अपराधिक गतिविधिको ग्राफमा खासै कमी आएको छैन । आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को तुलनामा २१ वटा मात्र आपराधिक घटनामा कमी आएको प्रदेश प्रहरीको तथ्याङ्कले देखाउँछ । यद्यपि, ज्यानसम्बन्धी, भवितव्य ज्यान, फुटकर ज्यान र गर्भपतनजस्ता गम्भीर प्रकृतिका अपराधमा वृद्धि भएको पाइएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार २०८०/०८१ मा ९ हजार ६२० वटा अपराधिक घटनाका मुद्दा दर्ता भएका थिए भने २०८१/०८२ मा ९ हजार ५९९ वटा मुद्दा दर्ता भएका छन् । यद्यपि, ज्यानसम्बन्धी, भवितव्य ज्यान, फुटकर ज्यान र गर्भपतनजस्ता गम्भीर अपराधहरूको संख्या बढेको देखिएको छ ।
२०८१/०८२ मा ज्यानसम्बन्धी १७३ घटनाहरू दर्ता भएका छन् । यो २०८०/०८१ भन्दा ५ घटनाले बढी हो । त्यस्तै, भवितव्य ज्यानका घटनामा ६३५ घटनाको वृद्धि भएको छ ।
त्यसैगरी, २०८१/०८२ मा भएको कुल अपराधिक घटनामा २ हजार ६३० जनाको मृत्यु भएको देखिएको छ । यो संख्या २०८०/०८१ को तुलनामा ३१४ जनाले बढी हो । मृत्युका प्रमुख कारणहरूमा खुन डाका, कर्तव्य ज्यान, गर्भपतन, भवितव्य ज्यान, फुटकर ज्यान, आत्महत्या, करेन्ट लागेर र पानीमा डुबेर रहेका छन् ।
विशेषगरी आत्महत्या र करेन्ट लागेर मृत्यु हुनेको संख्या बढी भएको छ । २०८१/०८२ मा आत्महत्यासम्बन्धी घटनामा १ हजार २२२ जनाको मृत्यु भएको छ । यो सबैभन्दा बढी हो । यसैगरी, करेन्ट लागेर ११९ र पानीमा डुबेर २५६ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
प्रहरी प्रवक्ता विजय यादवका अनुसार, प्रदेशमा अधिकतर मृत्यु घटनाहरू भवितव्यको कारणले भएका छन् । उनले जनचेतनाको कमीलाई यस्ता घटनाका लागि मुख्य कारणको रूपमा औंल्याए । पूर्वएआइजी लालमणि आचार्यले प्रहरीको केही हदसम्मको लापरबाहीलाई यस्ता घटनाहरूको कारण मानेका छन् । उनले भने, ‘प्रहरीको सक्रियता बढाएमा केही हदसम्म अपराध न्यूनीकरण हुने सम्भावना छ ।’
पूर्वप्रहरी अधिकारीहरूले भने प्रहरीको अकर्मण्यता र आवेगपूर्ण कार्यलाई यस्ता घटनाहरूको मुख्य कारणको रूपमा पहिचान गरेका छन् ।
मधेश प्रदेशमा अपराधिक घटनाको संख्या सानो रूपमा घटेको भए पनि मृत्यु दरमा भएको वृद्धि र गम्भीर अपराधहरूको संख्यामा भएको वृद्धिले सुरक्षा र कानूनी व्यवस्था सुधारको आवश्यकता औंल्याउँछ । प्रहरी प्रशासनलाई जनचेतना र आवेगपूर्ण गतिविधिहरूलाई नियन्त्रण गर्न कडा कदम चाल्ने आवश्यकता रहेको देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
