जनताको घरमै लाइसेन्स पुर्याउने तयारी


जनकपुरधाम, १६ साउन । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ग्रामीण बासिन्दाले जनकपुरधाम धाइरहनुपर्ने बाध्यता हट्ने भएको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधामले ‘घरदैलो सेवा’ अभियान सुरु गर्दै विभिन्न पालिकामा गएर सिधै लाइसेन्स वितरण गर्ने तयारी थालेको छ ।
कार्यालय प्रमुख धनञ्जय कुमार सिंहका अनुसार केही दिनभित्रै धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा वितरण कार्यक्रम सुरु हुनेछ । ‘गाउँगाउँबाट जनकपुरधाम आउनुपर्ने झन्झट अब हट्छ,’ उनले भने, ‘यसले जनताको समय, खर्च र श्रमको बचत हुनेछ ।’
पहिलो चरणमा लाइसेन्स वितरणमा लामो समयदेखि ढिलाइ हुँदै आएको पालिकालाई प्राथमिकता दिइनेछ । सिंहका अनुसार पालिकाको कुनै एउटा केन्द्रमा कार्यक्रम राखी टोलीमार्फत छापिएका लाइसेन्स वितरण गरिनेछ ।
‘जनताको घरदैलोमै सेवा पुर्याउने हाम्रो उद्देश्य हो,’ प्रमुख सिंहले भने, ‘अब लाइसेन्स लिनका लागि लाइन बस्ने, भीडभाड झेल्ने र सास्ती व्यहोर्नुपर्ने अवस्था अन्त्य हुँदैछ ।’
यातायात कार्यालयको यस कदमले विशेषगरी ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । स्थानीय तहमा सेवा विस्तार गर्न सकिएको खण्डमा यो अभियानलाई अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको सिंहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
