पर्साको झौवामा पावरड्रिल बोरिङ उद्घाटन, २०० बिगाहा खेत सिँचाइको सुविधा


पर्सा, १६ साउन । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–३ झौवामा मधेश प्रदेश सरकारको सहयोगमा जडान गरिएको पावरड्रिल बोरिङको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ ।
सिँचाइ अभावमा वर्षौंदेखि समस्यामा परेका स्थानीय किसानका लागि यो योजनाले राहत दिने विश्वास गरिएको छ ।
सिँचाइको सुविधा विस्तार गर्न स्थापना गरिएको उक्त पावरड्रिल बोरिङको उद्घाटन जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले गरे । कार्यक्रममा बोल्दै अध्यक्ष सर्राफले खडेरीको बेला बोरिङ प्रणाली किसानका लागि ‘सञ्जीवनी’ सावित हुने दाबी गरे ।
‘यो बोरिङबाट करिब २०० बिगाहा खेत सिँचाइ हुन सक्छ । यसले उत्पादनमा वृद्धि र कृषिमा आत्मनिर्भरता ल्याउन मद्दत गर्नेछ,’ अध्यक्ष सर्राफले भने । साथै उनले जनमत पार्टी किसानको हकहितका लागि सदैव प्रतिवद्ध रहेको उल्लेख गर्दै किसान आन्दोलनकै जगबाट पार्टीको स्थापनाभएको स्मरण गराए ।
कार्यक्रममा जनमत पार्टीकी केन्द्रीय सदस्य अनिता रौनियार, प्रदेश सदस्य राजनारायण मिश्र, पालिका अध्यक्ष विनोद (ललन) चौरसिया, वडा अध्यक्ष रामबाबु चौरसिया, किसान जनमत संघका जिल्ला संयोजक विनोद कुशवाहा, वीरगंज महानगर संयोजक संजय सिंह, लोकेश कर्ण, संजय सर्राफ, देव यादव लगायतको उपस्थिति रहेको थियो ।
बोरिङ उद्घाटनप्रति स्थानीय किसानहरूले खुसी व्यक्त गर्दै अब बालीमा नोक्सानी कम हुने, उत्पादनमा सुधार आउने र कृषिमा भरपर्दो पूर्वाधार विकासको शुरुवात भएको विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
