सिरहा, १६ साउन । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले शुक्रबार सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गर्दै स्वास्थ्य सेवा गुणस्तरीय बनाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

पटक–पटक सरसफाइ, औषधिको अभाव र सेवाप्रवाहमा लापरवाहीको गुनासो आएपछि मन्त्री सिंह स्वयं अस्पताल पुगेका हुन् ।

अनुगमनका क्रममा उनले अस्पतालमा सञ्चालित सेवा, पूर्वाधारको अवस्था, औषधि आपूर्ति, सरसफाइ व्यवस्थापन लगायतका पक्षहरूको स्थलगत अवलोकन गरे ।

अनुगमनपछि मन्त्री सिंहले अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूलाई सेवामा कुनै पनि किसिमको लापरवाही नगर्न निर्देशन दिए । ‘स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । उपचारका लागि आउने कसैले पनि अपमानित महसुस गर्नु हुँदैन,’ उनले भने ।

मन्त्री सिंहले नागरिकमैत्री व्यवहार, उत्तरदायित्वपूर्ण सेवा र अस्पतालको समग्र व्यवस्थापनमा सुधार आवश्यक रहेको उल्लेख गर्दै भने, ‘१५० शय्याको यो अस्पताललाई अब विशेषज्ञ सेवा दिने स्तरमा लैजानुपर्छ । विशेषगरी आइसियू, एनआइसियू, आकस्मिक सेवा र बाहिरङ्ग उपचार सेवामा ध्यान केन्द्रित गरिनुपर्छ ।’

उनले चिकित्सक तथा कर्मचारीहरूलाई संवेदनशील, उत्तरदायी र सेवामुखी बन्न आग्रह गर्दै प्रदेश सरकार अस्पताल सुधारप्रति गम्भीर रहेको स्पष्ट पारे ।

अनुगमनका क्रममा मन्त्रीसँगै मन्त्रालयका अधिकारीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।