‘कानुनी ऋण कारोबारमा बाधा’ भन्दै प्रशासनलाई ध्यानाकर्षण


जनकपुरधाम, १६ साउन । धनुषाको मिथिला बिहारी नगरपालिका–१० ठेराका नागरिक समाजका अगुवाहरूले अदालतको आदेश कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय जनकपुरधाममा शुक्रबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरूले कानुनी प्रक्रिया पूरा गरेर ऋण कारोबार गर्ने साहू–महाजनहरू प्रहरी प्रशासनको गैरजिम्मेवार व्यवहारका कारण अन्यायमा परेको गुनासो गरेका छन् ।
नेपाल सरकारद्वारा ऋण कारोबारसम्बन्धी लागु गरिएको कानुनी व्यवस्था अनुसार वडा कार्यालयमा दर्ता भई कानुनी रूपमै ऋण दिएको भए पनि प्रहरीबाट अनावश्यक दबाब दिइएको उनीहरूको आरोप छ ।
ठेरावासीले उच्च अदालत जनकपुरद्वारा लेनदेनसम्बन्धी निषेधाज्ञा मुद्दामा प्रहरीले कुनै दबाब नदिन अन्तरिम आदेश जारी गरिसकेको स्मरण गराउँदै त्यस आदेशको उल्लंघन गर्दै ऋणदाताहरूलाई फोनमार्फत धम्की र मानसिक दबाब दिइएको दाबी गरेका छन् ।
यसबाहेक, केही व्यक्तिहरूले विभिन्न समितिको नाममा गाउँमा भ्रम र त्रास फैलाउने कार्यमा संलग्न भएको पनि आरोप लगाउँदै ठेराका नागरिक अगुवाहरूले यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमार्फत उनीहरूले अदालतको आदेशको सम्मान गर्दै निष्पक्ष र कानूनसम्मत ढंगले प्रहरी प्रशासनको भूमिका सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
