जलवायु परिवर्तनले मधेशमा गहिरिँदो जलस्रोत संकट, दीर्घकालीन समाधानमा जोड


जनकपुरधाम, १६ साउन । जलवायु परिवर्तनका कारण मधेश प्रदेशमा उत्पन्न जलस्रोत संकटबारे गम्भीर बहस गरिएको एक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले जलवायु परिवर्तनलाई अब कल्पनाको विषय नभइ आजको कठोर यथार्थका रूपमा लिनुपर्ने बताए । भूमिगत पानीको सतह तीव्र गतिमा घट्दै जानु, अनियमित वर्षा र अत्यधिक गर्मीले जनजीवन मात्र नभई खाद्य सुरक्षासमेत संकटमा पार्न थालेको मन्त्री लेखीको भनाइ थियो ।
‘हामीले अब जलवायु परिवर्तनलाई नजरअन्दाज गरेर बस्न सक्दैनौं,’ मन्त्री लेखीले भने, ‘समस्याको दीर्घकालीन समाधानका लागि तत्काल ठोस योजना निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ ।’
अन्तरक्रियामा जल, कृषि, सिँचाइ, स्वास्थ्य र वातावरण क्षेत्रका विज्ञहरू, स्थानीय जनप्रतिनिधिहरू, पत्रकार तथा नागरिक समाजका अगुवाहरू सहभागी थिए । उनीहरूले जलस्रोत संरक्षण, वातावरणीय शिक्षा विस्तार तथा स्थानीय तहको भूमिकामा आधारित समाधानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमा भूमिगत पानीको सतह निरन्तर घट्दै गएको, अत्यधिक तापक्रमका कारण बाली सुक्ने समस्या बढेको र त्यसले खाद्य सुरक्षामा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
