जनकपुरधाम, ७ असार । धनुषाको ढल्केबरमा शुक्रबार राती ९ः३० बजे अज्ञात सवारीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका–६ का ५५ वर्षीय विन्देश्वर महरा हुन् ।

प्राप्त जानकारी अनुसार महरा मिथिला नगरपालिका–६, ढल्केबरस्थित जनकपुर–ढल्केबर सडक खण्डमा सो समयमा पैदल हिँडिरहेका थिए । अज्ञात सवारीको ठक्करबाट गम्भीर घाइते भएका महरालाई तुरुन्तै प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । तर, चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरे ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार घटनास्थल अँध्यारो र सुनसान रहेको कारण ठक्कर दिने सवारी फरार भएको बताइएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शङ्कास्पद गाडीहरूको नियन्त्रणमा लिएको भएता पनि ठोस निष्कर्ष प्राप्त भएको छैन ।

मृतक महरा ढल्केबरस्थित मिथिला हार्डवेयर पसलमा काम गर्दै आएका थिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।