जनकपुरधाममा आशु हत्या प्रकरणको विरोधमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रदर्शन

जनकपुरधाम, १ जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक युवकको हत्या प्रकरणमा संलग्न सम्पूर्ण दोषीलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ भएको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले विरोध प्रदर्शन गरेका छन् । बिहीबार जनकपुरधामको प्रमुख व्यस्त क्षेत्र रामानन्द चोकमा आयोजित प्रदर्शनमा आक्रोशित समुदायले सडक अवरुद्ध गर्दै सरकार र स्थानीय प्रशासनविरुद्ध कडा नाराबाजी गरे ।
प्रदर्शनकारीहरूले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘स्थानीय प्रशासन मुर्दावाद’, ‘न्याय मरेको देश’ लगायतका नारासहित प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए । उनीहरूका अनुसार यो घटना केवल एक व्यक्तिको हत्या नभई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथिको गम्भीर हमला हो जसलाई राज्यले सामान्यीकृत गर्न खोजिरहेको छ ।

गत चैत २ गते होलीको दिन जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी टोलका १७ वर्षीय आशु यादवको छुरा प्रहार गरी हत्या गरिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार घटनामा सात जना संलग्न रहेको बताइएको छ । तर, प्रहरीले हालसम्म दुईजनालाई मात्रै पक्राउ गरेको छ भने अन्य पाँचजना अझै फरार छन् । प्रदर्शनकारीहरूले भने, ‘यो पूर्व–योजना अनुसारको संगठित आक्रमण हो । तर, राज्यले ढिलासुस्ती गर्दै हत्यारा लुकाउने प्रयास गरिरहेको छ ।’

प्रदर्शन उग्र बनेपछि जनकपुर–ढल्केवर सडकखण्डको रामानन्द चोक करिब एक घण्टासम्म पूर्ण रूपमा अवरुद्ध भयो । प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड गरिएको धनुषा प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागी व्यक्तिहरूले राज्यले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति निरन्तर बेवास्ता गर्दै आएको आरोप पनि लगाए ।

धनुषा प्रहरीले भने बाँकी फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले भने, ‘हामी अपराधीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रियामा छौं । केही प्राविधिक कारणले ढिलाइ भएको हो, तर छिट्टै सबै दोषी पक्राउ पर्नेछ ।’ तर, पीडित परिवार र प्रदर्शनकारीहरू प्रहरीले दिएको आश्वासनप्रति आशावादी देखिएका छैनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

