जनकपुरधाम, ५ वैशाख । जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीको पूर्व किनारमा निर्माणाधीन रामानारायण मिश्र स्मृति भवनलाई प्रतिनिधिसभा सांसद मनिष झाले खुलेर समर्थन जनाएका छन् । पोखरीको डीलमा भवन निर्माणलाई लिएर सामाजिक र सरोकारवालाबीच मतभेद देखिएको बेला सांसद झाले सामाजिक सञ्जालमार्फत स्मृति भवनको पक्षमा उभिँदै सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

सांसद झाले आफ्नो आधिकारिक फेसबुक पोष्टमा लेखेका छन्, ‘जनकपुरधाम गंगासागरको पूर्वतिर निर्माण हुन थालेको रामनारायण मिश्र स्मारक समितिद्वारा रामनारायण मिश्र स्मृति भवनको निर्माण कार्यको स्वागत र समर्थन गर्दछु । साथै यस निर्माण कार्यमा म जनकपुरको एक नागरिक, अभियन्ता, सङ्घीय सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

सांसद झाका अनुसार जनकपुरधामले रामानारायण मिश्रजस्ता नेताहरूको योगदानलाई उचित सम्मान दिनुपर्ने आवश्यकता रहेको छ । उनले स्मृति भवनले जनकपुरको राजनीतिक र सामाजिक इतिहासलाई संरक्षण गर्ने काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांसद झाले भनेका छन्, ‘गंगासागर क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै स्मृति भवनको स्वरूपलाई समावेशी र सौन्दर्यपूर्ण बनाउन पहल गरिनुपर्छ । सौन्दर्यकरण र स्मृति संरक्षण दुवै सँगसँगै अगाडि बढ्नुपर्छ ।’

हाल स्मृति भवनको स्थान र त्यसले गंगासागरको परम्परागत सौन्दर्य र पर्यावरणमा पर्ने असरबारे केही स्थानीय समूहले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले पोखरीको किनार क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा संरक्षण गर्नुपर्ने माग राख्दै भवन निर्माण रोक्न दबाब दिइरहेका छन् । यद्यपि स्मारक समिति र समर्थकहरू भने यो भवन जनकपुरका महान हस्तीको सम्मानमा बनाइँदैछ भन्दै समर्थनमा छन् ।

सांसद झाको समर्थनपछि स्मृति भवन निर्माण पक्षलाई थप हौसला मिलेको देखिएको छ । उनका समर्थकहरूले सामाजिक सञ्जालमा उनको पोस्टलाई सेयर गर्दै गंगासागर क्षेत्रलाई आधुनिक स्मृति स्थलका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।