काठमाडौँ, ५ वैशाख । कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि तोकिएकै मितिमा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ । केही सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा ‘शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित भएको’ भन्ने भ्रामक सूचना व्यापक रूपमा फैलिएकोप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित भएको भन्ने सूचना पूर्णरूपमा झुटो र भ्रामक रहेको स्पष्ट पारेको छ । ‘कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार यही २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुनेछ । कृपया कुनै प्रकारको भ्रममा नपर्नुहुन सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालासँग अनुरोध गर्दछौं,’ बोर्डले भनेको छ ।

बोर्डका अनुसार सामाजिक सञ्जालमा प्रसारित भ्रामक सूचनामा बोर्डको लेटरप्याड प्रयोग गरी अध्यक्षको ‘नक्कली हस्ताक्षर’ राखिएको भेटिएको छ । यसप्रकारको कार्यलाई गम्भीर आपराधिक गतिविधिको रूपमा लिँदै बोर्डले साइबर कानुनअनुसार दोषीमाथि कानुनी कारबाही प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

‘परीक्षा जस्तो संवेदनशील विषयमा अनधिकृत सूचना सम्प्रेषण गरेर हजारौं विद्यार्थीको मानसिक स्वास्थ्य र भविष्यसँग खेलबाड गर्ने यस्ता कार्यलाई सह्य गर्न सकिन्न,’ बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १२ को परीक्षालाई सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि शिक्षक, प्रधानाध्यापक तथा अभिभावकहरूलाई समन्वय र सहकार्य गर्न हार्दिक अनुरोध गरेको छ । परीक्षा केन्द्र व्यवस्थापन, अनुगमन तथा समन्वयका लागि स्थानीय तहका शिक्षा शाखा, विद्यालयहरू र सम्बन्धित निकायहरूलाई पूर्ण तयारीमा जुट्न पनि बोर्डले आग्रह गरेको छ ।

बोर्डले विद्यार्थीहरूलाई आधिकारिक सूचना बाहेक अन्यत्रबाट आएका समाचार र सूचनाप्रति सतर्क रहन तथा भ्रममा नपर्न आग्रह गरेको छ । बोर्डको आधिकारिक वेबसाइट तथा सूचना प्रणालीबाट मात्र सूचना लिने बानी बसाल्न विद्यार्थीहरूलाई सन्देश दिएको छ ।

यसअघि पनि परीक्षा सम्बन्धी नक्कली सूचना सामाजिक सञ्जालमा फैलिएर विद्यार्थीमा अन्योल उत्पन्न गराउने गतिविधिहरू भएका थिए । यसपटक भने बोर्डले समयमै हस्तक्षेप गर्दै स्पष्ट जानकारी दिएको छ ।