बरहथवाका ११ निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम, ४ वैशाख । सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा सञ्चालनमा रहेका ११ वटा निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल बन्द गर्न निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति नलिएका, मापदण्डअनुसारको संरचना तथा जनशक्ति व्यवस्थापन नभएका स्वास्थ्य संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यसहित मुख्यमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिंहले बरहथवास्थित ती अस्पतालहरूको स्थलगत निरीक्षण गर्दै प्रदेश सरकारका मापदण्ड र कानुनी व्यवस्था विपरीत सेवा सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाको अवस्था अत्यन्तै दयनीय रहेको बताएका छन् । उनले प्रदेशवासीको स्वास्थ्य सुरक्षालाई गम्भीर रूपमा लिएको बताउँदै, ‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा मापदण्डविपरीतको लापरवाही सह्य हुँदैन,’ भने ।
बन्द गरिएका स्वास्थ्य संस्थाहरूमा संकट मोचन हेल्थ केयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक रहेका छन् ।
मुख्यमन्त्रीको निर्देशनपछि प्रदेश सरकारको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती संस्थाहरूलाई कानूनी प्रक्रिया पुरा गरी मात्र पुनः सेवा सञ्चालन गर्न पाउने निर्देशन दिएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले भने, ‘हामीले ती संस्थालाई मापदण्डअनुसार सेवा सञ्चालन अनुमति लिई नवीकरण गराई मात्र स्वास्थ्य सेवा प्रदान गर्न सकिने स्पष्ट लेखिएको निर्देशन पत्र दिएका छौं ।’
अनुगमनका क्रममा थुप्रै स्वास्थ्य संस्था सेवा सञ्चालनका लागि आवश्यक कागजात नवीकरण नगरेको, दक्ष जनशक्ति व्यवस्थापन नगरेको, आधुनिक उपकरणको अभाव रहेको तथा औषधि व्यवस्थापनसमेत कमजोर रहेको पाइएको थियो । मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले भने, ‘मुख्यमन्त्रीज्यूले यसअघि पनि मलंगवा, नवलपुर, लालबन्दी र हरिवनका स्वास्थ्य संस्थाहरूको अनुगमन गरी यस्तै खालका निर्देशहरू दिनुभएको थियो । बरहथवामा पनि सोही अभियानलाई निरन्तरता दिइएको हो ।’
मुख्यमन्त्री सिंहको पछिल्लो निर्णयले सर्लाहीमा स्वास्थ्य सेवा क्षेत्रमा फैलिएको अव्यवस्थामाथि कडाइ गर्ने संकेत गरेको छ । यस कदमले भविष्यमा मापदण्ड विपरीत सञ्चालन भइरहेका अन्य अस्पताल तथा क्लिनिकहरूलाई पनि सुधार गर्न प्रेरणा मिल्ने आशा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

