बटेश्वर गाउँपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ चैत । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।
सरकारी पदाधिकारीहरूले गाउँपालिकामा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरी गैरकानूनी लाभ प्राप्त गरेको पुष्टि भएपछि यो आरोपपत्र दायर गरिएको हो ।
विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, छैठौं तहका लेखा अधिकारी सुमन कुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष वृज कुमार यादवले मिलेमतो गरी भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरूमाथि कुल ६ लाख ४४ हजार १०० रुपैयाँ गैरकानूनी रूपमा लाभ प्राप्त गरेको आरोप छ ।
अनुसन्धानले देखाएअनुसार बटेश्वर गाउँपालिकाका वडाहरूमा स्वास्थ्य चौकी भवन, डिप बोरिङ र डिप बोरिङ हाउस निर्माणका लागि ठेक्का आह्वान गर्दा सार्वजनिक खरिद ऐनको उल्लङ्घन भएको थियो । आ.व. २०७६/७७ मा ठेक्का प्रक्रियामा बोलपत्र आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने भए पनि जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक यादवसँगको मिलेमतोमा सूचनाहरू लुकाइएका थिए ।
जनकपुर टुडे राष्ट्रिय दैनिकमा २०७६ माघ २४ मा एकप्रति मात्र बोलपत्र आह्वानको सूचना र २०७६ फागुन ३ मा एकप्रति मात्र बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरेर गाउँपालिकामा पेश गरिएको थियो । यो प्रक्रियामा झूटा विवरणहरू बनाइ जनकपुर टुडे मिडिया ग्रुपलाई ६ लाख ४४ हजार १०० रुपैयाँ भुक्तानी गरिएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अनुसार उनीहरूलाई दोषी ठहर गर्ने माग गर्दै मुद्दा दायर गरिएको हो । सावन कुमार चौधरी, सुमन कुमार पुरी र वृज कुमार यादवमाथि बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । साथै, भ्रष्टाचारबाट प्राप्त रकम असुल उपर गर्न विशेष अदालतमा आग्रह गरिएको छ ।
मुद्दाको अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेका छन् । दोषी ठहर भएमा उनीहरूलाई भ्रष्टाचार ऐनअन्तर्गत कडा सजायको सामना गर्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

