जनकपुरधाम, १५ फागुन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधामका कर्मचारीहरूले आफ्नो अधिकार रक्षा गर्न र अन्यायपूर्ण निर्णयको विरोधमा आवाज उठाएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्ने सरकारको योजनाले कर्मचारीहरूको मनोबल गिराउने मात्र नभई उनीहरूको हकहितलाई कुल्चन खोजिएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।

कर्मचारीहरूका अनुसार समायोजन प्रक्रिया निष्पक्ष नभएको र कर्मचारीहरूसँग कुनै परामर्श नगरी जबरजस्ती लागू गर्न खोजिएको छ । उनीहरू भन्छन्, ‘यो विषय केवल कर्मचारीहरूसँग मात्र सीमित छैन । यो सम्पूर्ण जनकपुरधामवासीसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो ।’

समायोजन प्रक्रिया निष्पक्ष र पारदर्शी नबनाइए सेवाग्राहीहरूलाई समेत ठूलो समस्या पर्ने उनीहरूको तर्क छ । जनकपुरधाम शाखा कार्यालयका कर्मचारीहरूले यस निर्णयविरुद्ध ऐक्यबद्धता जनाउन सबै पक्षसँग सहयोगको अपिल गरेका छन् ।

उनीहरू भन्छन्, ‘हाम्रो मागहरूलाई सम्बोधन नगरिएसम्म हाम्रो विरोध जारी रहनेछ ।’ साथै, उनीहरूले यस आन्दोलनबाट पर्न गएको असुविधाप्रति सेवाग्राहीहरूसँग क्षमायाचना पनि गरेका छन् ।

सम्बन्धित निकायले कर्मचारीहरूका जायज मागहरू सम्बोधन नगरेमा विरोधका थप कार्यक्रमहरू अघि बढ्ने चेतावनीसमेत कर्मचारीहरूले दिएका छन् ।