जनकपुरधाम, ९ फागुन । जनकपुरधामस्थित एक सुधार केन्द्रमा एकजना युवकको शंकास्पद मृत्यु भएको छ।
मृतक धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-१० डुमरियाका २० वर्षीय राजकुमार यादव छन् ।
राजकुमार यादव पछिल्लो दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका-१९ बेंगाशिवपुरस्थित किशोर फाउण्डेशन सुधार केन्द्रमा बस्दै आएका थिए । सुधार केन्द्रमा रहेका उनको बुधबार साँझ मृत्यु भएको हो ।
सुधार केन्द्रका व्यवस्थापक संजीव शर्माका अनुसार राजकुमारलाई बुधबार बिहान ११ बजेतिर जनकपुरको समर अस्पताल लगिएको थियो । उनले घाँटीमा कफ जमेको जस्तो भई सास लिन समस्या देखाएको बताए ।
समर अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकहरूले उनलाई निगरानीमा राख्न सल्लाह दिएका थिए । तर, दिउँसो ४:३० बजेतिर पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो ।
प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज सरद यादवका अनुसार सुधार केन्द्रबाट ल्याउँदा नै राजकुमारको मृत्यु भइसकेको थियो । अस्पतालको आकस्मिक कक्षका मेडिकल अफिसर राधे मण्डल र रमेश यादवले पनि उनलाई मृत घोषित गरेका थिए ।
स्थानीय महेशलाल यादवका अनुसार मृतक राजकुमारकी आमा सरस्वती देवी चार दिनअघि सुधार केन्द्रमा छोरालाई भेट्न गएकी थिइन् । आमाले छोराको अनुहार मलिन देखेपछि उनलाई घर लैजान चाहेको बताइन् । तर, सुधार केन्द्रका सञ्चालकहरूले ४-५ महिना सुधार केन्द्रमै राखे मात्र निको हुने भन्दै उनलाई रोकिएको आरोप लगाइएको छ ।
राजकुमारको मृत्युबारे परिवारले सुधार केन्द्रमाथि गम्भीर आरोप लगाएका छन् । परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि सेवन गराइएकै कारण छोराको मृत्यु भएको दाबी गरेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार समर अस्पतालमा उपचारपछि सुधार केन्द्र लगिएको र त्यहाँ गएर सुतेको सुत्यै भएकाले पुनः अस्पताल पुर्याइएको भन्ने जानकारी सुधार केन्द्रका सञ्चालकले दिएका छन् ।
राजकुमारको शव बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । उनी घरका एक मात्र छोरा थिए । विवाहित राजकुमारका दुई सन्तान छन् भने उनका पिता रामबाबु यादव वैदेशिक रोजगारीमा छन् ।
राजकुमारको मृत्युप्रति परिवारले गम्भीर असन्तुष्टि जनाएका छन् । सुधार केन्द्रको लापरबाहीका कारण छोराको ज्यान गएको भन्दै उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् ।
स्थानीय प्रशासनले यस घटनामा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।