फुङ्लिङ, ८ फागुन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ । यस विरोधी पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए ।
यस विरोध प्रदर्शनमा पार्टीका प्रमुख नेता रमन पाण्डेय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, मुकुम्लुङ केवलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध जनाउनु थियो ।
समर्थकहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा र धार्मिक आस्थामा असर पार्ने बताउँदै यसको विरोध जनाएका छन् । उनीहरूका अनुसार परियोजना सुरु भएमा स्थानीय संस्कृति र इतिहासको संरक्षणलाई चुनौती पुर्याउनेछ ।
रमन पाण्डेयले यस विरोधको महत्त्व व्याख्या गर्दै भने, ‘मुकुम्लुङको चोत्लुङ सभ्यता बचाउन हामी मधेश, पहाड र हिमालका नागरिक एकजुट भएका छौँ । हाम्रो संस्कृति कुनै कमिसन र दलालीको खेलमा बिक्री हुन सक्दैन ।’
नेता राजेन्द्र महतोले थपे, ‘मुकुम्लुङको संस्कृति र चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन । जबसम्म केवलकार निर्माण कार्य बन्द हुँदैन तबसम्म हाम्रो संघर्ष जारी रहनेछ ।’
स्थानीयबासीहरूले पनि उक्त परियोजनाको कडा विरोध जनाएका छन् । एक स्थानीयबासि दावा लिम्बूले भने, ‘हाम्रो मौलिक धर्म, संस्कृति, सभ्यता र पहिचानको रक्षा गर्नु हाम्रो कर्तव्य हो । केवलकार परियोजनाले हाम्रो सांस्कृतिक अस्तित्वलाई धम्क्याइरहेको छ ।’
हालको केवलकार परियोजना कार्यान्वयनले पर्यटन प्रवद्र्धन गर्न सक्ने सम्भावना राखेको छ । स्थानीय समुदायका लागि चिन्ता र विरोधको विषय बनेको छ । उनीहरूको भनाइमा यो परियोजना धार्मिक स्थलहरूको अवमूल्यन गर्न सक्ने खतरा राख्दछ र स्थानीय संस्कृति र सभ्यतामा नकारात्मक प्रभाव पार्नेछ ।
विश्लेषकहरूका अनुसार सरकारले स्थानीय समुदायसँग समन्वय र परामर्शको आधारमा परियोजनाको दीर्घकालीन प्रभावको मूल्याङ्कन गर्दै मात्र निर्णय गर्नु आवश्यक छ । यदि सरकारले परियोजना अघि बढाउन तयारी गरेको खण्डमा यसले सामाजिक असन्तुष्टि निम्त्याउन सक्छ ।
स्थानीय समुदाय र नागरिक समाजका प्रतिनिधिहरूले नेपाल सरकारसँग परामर्श गरेर मात्र परियोजनाको भविष्यबारे निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।