जनकपुरधाम, ८ फागुन । नेपाली काँग्रेसको सर्लाही जिल्ला अनुशासन समितिले मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई पार्टीको मर्यादा र अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टिकरण माग गरेको छ ।
सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसमितिबाट प्राप्त भएको उजुरीको आधारमा रायले विभिन्न राजनीतिक कार्यक्रमहरूमा सहभागी भएर पार्टी र पार्टीका शीर्ष नेताहरूबारे अनावश्यक र तथ्यहीन आरोप लगाउँदै पार्टीको इज्जतमा क्षति पुर्याएको आरोप लागेको हो ।
रायले संघीय निर्वाचनको समयमा र हालसम्म विभिन्न विचारधारा भएका नेताहरूसँगको राजनीतिक कार्यक्रममा सहभागी भइ पार्टीको मर्यादासँग मेल नखाने गतिविधिहरू गरेको भन्दै पार्टीको अनुशासन र मर्यादाको उल्लंघन गरेको आरोप लगाइएको छ ।
यसै सन्दर्भमा पार्टीको सर्लाही जिल्ला अनुशासन समितिले रायलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । समितिले पत्र पठाउँदै भनेको छ, ‘तपाई पार्टीको प्रदेश सभा सदस्यको हैसियतले पार्टीको प्रतिष्ठामा नासमझीपूर्ण आरोप र गालि गर्दै आउनु अनुशासनको उल्लंघन हो ।’
समितिले पार्टीको विधान अनुसार रायविरुद्ध अनुशासनात्मक कारवाही गर्नुपर्ने विचार राखेको छ । पार्टीको संविधान र मर्यादाका विपरीत कार्य गर्नुपर्ने कारण सोझै पार्टीको उच्च नेतृत्वसमक्ष स्पष्टीकरण पेश गर्ने तयारी भइरहेको अनुशासन समितिका संयोजक डा. सरोज कुमारले बताए ।